हेटौंडाः मकवानपुरमा पछिल्लो समय कोरोना परिक्षणको लागि स्वाब संकलनमा सुस्तता आएको छ । यद्यपि मकवानपुरको संक्रमण घटेको भने पाइदैन । मकवानपुरमा कोरोना भाइरसको संक्रमण नघटेर परिक्षण गर्ने मानिसहरुमा कमी आएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पताल, गोरक्षेत्रस्वर स्वाब संकलन केन्द्रमा २ सय जनासम्मले स्वाब दिने गरेका थिए । पछिल्लो समय यो अहिले क्रमश घट्दै गएको हेटौंडा स्वाब संकलन केन्द्रका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उहाँको अनुसार आज हेटौंडामा ७१ जनाको मात्रै स्वाब संकलन भयो ।
कोरोना परीक्षण गर्न उनीहरुको स्वाब संकलन गरेर हेटौंडा अस्पतालको प्रयोगशालमा पठाइएको छ । धेरैले अहिले कोरोना परीक्षण नै गर्न चाहदैनन् । सामान्य रुघा, खोकी ज्वरो आएपनि औषधी पसलबाट किनेर औषधी खाएर बस्दै आएका छन् ।
यता गाउँगाउँमा भने कारोनाको संक्रमण बढ्दै गएको छ । मंगलबार हेटौंडा १ को नकौलीमा २५ जनाको ऐन्टिजेन परिक्षण गर्दा १७ जनामा संक्रमण पाइएको थियो । त्यस्तै मकवानपुको राक्सिराङ–३ मा ३६ जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको राक्सिराङ गाउँपालिकाका स्वास्थय प्रमुख विजय कापरीले बताउनुभयो ।
जिल्लामा संक्रमण बढ्दै जाँदा स्थानीय तहहले स्वाब संकलन भने बढाउन सकेका छैनन् । ऐन्टिजेन विधिबाट हेटौंडा बाहेक जिल्लाका नौ स्थानीय तहहरुले कोरोना परीक्षण गर्दै आएका छन् । हेटौंडाका शंका लागेका व्यक्तिहरुले मात्रै स्वाब संकलन गराउँदै आएका छन् । पछिल्लो समय हेटौंडा बाहेकका अन्य गाउँपालिकाहरुले स्वाब संकलन गरेर नपठाएको भोला चौलागाईले बताउनुभयो ।
यता जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले संक्रमण बढी भएको स्थानहरुमा ऐन्टिजेन र पीसीआर परिक्षण बढाउँन स्थानीय तहहरुलाई आग्रह गर्ने भनिए पनि परिक्षणको दायरा झनै खुम्चदै आएको छ ।