हेटौंडाः बागमती प्रदेश सरकारले कोभिड केन्द्रित भएर बजेट प्रस्तुत गर्ने भएको छ । शनिबार संघले बजेट प्रस्तुत गरेसँगै संघीय बजेट निकै राम्रो भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रतिक्रिया दिनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको ल्याउने बजेटमा कोभिड रोकथाम, नियन्त्रण र उपचार नै पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।
मोटामोटी रुपमा नीतिगत, सिद्धान्तका कुरा सकिएपनि बजेट फाइनल हुन बाँकी भएको उहाँको भनाई छ । ‘समग्रमा बजेटको आकार तय भएको छ । स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा परेका छन्’, मन्त्री ढुंगेलले भन्नुभयो । त्यसो त बागमती प्रदेश सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै लगेको छ । पहिलेकै सिनारियोमा बजेट प्रस्तुत हुने उहाँको भनाई छ । उहाँका अनुसार यो वर्ष बजेटको आकार गत वर्षको भन्दा अझै बढी आउनेछ । पुरानो योजनालाई निरन्तरता दिँदै बजेट प्रस्तुत हुने उहाँले दाबी गर्नुभयो । शनिबार संघीय सरकारले बागमती प्रदेश सरकारलाई १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्दैछ । केही योजना अझै थपघट हुन सक्ने आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताउनुभयो । सोमबार बागमती प्रदेश सभामा आर्थिक मन्त्री ढुंगेलले २०७८/७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्न प्रस्ताव पेश गर्दैछन् । बजेट अधिवेशनको दोस्रो बैठकमा उहाँले यो प्रस्ताव पेश गर्न लागेका हुन् । त्यसपछि सभामा आगामी बजेटबारे तीव्र छलफल हुनेछ । सभाबाट आगामी वर्षको बजेट स्वीकृत भएसँगै असार १ गते सार्वजनिक गरिनेछ । बागमती प्रदेशमा ११९ स्थानीय तह रहेको छ ।
कोभिड केन्द्रित बजेट ल्याउन एमाले बागमती संसदीय दलले सहजीकरण समिति नै निर्माण गरेको छ । माधव पक्षका सांसदहरुलाई समेटेर सहजीकरण समिति एमाले संसदीय दलले निर्माण गरेको हो । बजेट व्यवस्थित र सन्तुलित ल्याउन ९ सदस्यीय समिति निर्माण भएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । सहजीकरण समितिमा राजेन्द्र पाण्डे, अरुण नेपाल, रामेश्वर फुयाँल, कैलाश ढुंगेल, रमा आले, दीपक निरौला, केशव पाण्डे, नारायण सिलवाल र कृष्ण खनाल छन् । उनीहरुले कोभिड केन्द्रित र जनमुखी बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिनेछन् ।