हेटौंडाः हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल घटाउने काम भएकोमा दुःख व्यक्त गर्नुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पतालमा हालै मेसु नियुक्त हुनुभएका डा. सापकोटाले हेटौंडा अस्पतालसँगै अन्य केही स्थानमा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम भएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।
हेटौंडा अस्पतालको एचडीयु कक्षमा स्वास्थ्यकर्मी ड्युटीमा नरहेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकोमा डा. सापकोटाले गम्भीर आपत्ति जनाउनुभएको छ । हेटौंडाका दीपककुमार केशरीले सामाजिक सञ्जाल फेसबुकमा गत जेठ ५ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म एचडीयू कक्षमा डाक्टर तथा नर्स नबसेर कुरूवाले औषधी ल्याएर दिने कोठामा मस्त निद्रामा सुतिराखेको भन्दै भिडियोसहित पोष्ट गरेका छन् ।
अन्य दिनमा पनि बेलाबेलामा स्वास्थ्यकर्मीहरु एचडीयु कक्षबाट गायब हुने गरेको र स्वास्थ्यकर्मीलाई लापरबाही नगर्नु भन्दा स्वास्थ्यकर्मीले उल्टै धम्की दिएको केसरीले फेसबुकमा लेखेका छन् । ‘हामीले तपाईंको बिरामीको केयर गरेको छैनजस्तो लाग्छ भने तपाईंको बिरामीको उपचार गर्दैनौं, अन्तै लैजानु’, भन्दै डा. नेहा गुप्ताले जवाफ दिएको केशरीको फेसबुक वालमा लेखिएको छ । स्वास्थ्यकर्मी नभएको कुरामा विवादसमेत भएको र कतिपय नर्सहरुले ‘हामीलाई सरकारले भत्ता दिइहाल्छ, बिरामीलाई जे भए नि हामीलाई के ?’ भनेको केसरीले उल्लेख गरेका छन् । केसरीले आफ्नो भनाईमा सत्यता रहेको र उक्त दिनको सीसीटिभी फुटेजमा हेर्नसमेत उल्लेख गर्नुभएको छ ।
केसरीले फेसबुक वालमा लेखेको विषयप्रति हेटौंडा अस्पतालका मेसु डा. सापकोटाले आपत्ति जनाउनु भएको छ । ‘विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) कोे दोस्रो लहरमा संक्रमित हुनेहरुको उपचारमा खटिने हामी स्वास्थ्यकर्मीहरुले पाइलैपिच्छे जोखिम मोलिरहेका छौं, तर पनि यसरी व्यर्थका आरोपले मनोबलमा असर परेको छ’, डा. सापकोटाले बताउनुभयो ।
संक्रमितले अस्पताल भरिएको अवस्थामा बिना सेवासुविधा नै संक्रमितलाई निको पार्न खटिएका स्वास्थ्यकर्मीदेखि सम्पूर्ण कर्मचारीहरुले उपचारमा आएका संक्रमितलाई निको पारेर पठाउनेमात्र सोच राखिरहेको भए पनि यसरी गलत भनाई सार्वजनिक हुँदा स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक असर पर्ने उहाँले जानकारी दिनुभयो । एप्रोन, मास्क अनि पीपीई सेटमा आफ्नो भोकतिर्खा बिर्सिएर संक्रमितको उपचारमा खटिएका स्वास्थकर्मीहरुले जानाजान कुनै पनि गलत काम नगरेको डा. सापकोटाले दावी गर्नुभएको छ ।
उक्त समयमा अस्पतालमा खटिएको नर्सले मात्र होइन, कुनैपनि कर्मचारीले ‘हामीलाई सरकारले भत्ता दिइहाल्छ, बिरामीलाई जे भए नि हामीलाई के’ भन्ने कुरा भन्नै नसक्ने दावी गर्दै यदि कसैले त्यसो भनेको प्रमाण भएमा सजाय भोग्न तयार रहेको डा. सापकोटाले बताउनुभयो । स्वास्थ्यकर्मीको मनोबल गिर्ने काम गर्नुभन्दा कसरी काम गर्न सकिन्छ त्यो वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।