निलो भेस्ट लगाएका व्यक्ति कृष्णबहादुर थापा हुन् ।

हेटौंडाः कृष्ण बहादुर थापा उमेरले ७८ वर्ष भए । ४ वर्षअघि उनलाई मानव सेवा आश्रमले काठमाडौंबाट उद्दार गरेको थियो । थापा त्यसअघि सडक मानव थिए ।

घर छाडेर हिँडेका थापाले ३० वर्षपछि आफ्नो परिवार पाएका छन् । मानसिक सन्तुलन गुमाएर काठमाडौं सडकमा घुम्दै हिडेका थापालाई मानव सेवा आश्रमले उद्दार गरेर हेटौंडा स्थित कार्यालयमा राखेको थियो ।
आश्रममा थापाको औषधी उपचार भएपछि क्रमश स्वास्थ्यमा सुधार आयो ।

चार वर्ष आश्रमको बसाईपछि थापाले आफ्नो परिवार बारेमा आश्रमका मानिसहरुलाई बताएका थिए । आश्रमका अभियान्ता होमनाथ पौडेल भन्छन्,‘ थापाले बताएपछि परिवाको खोजि कार्य सुरु गर्‍यौ, ६ महिनापछि परिवार पत्ता लाग्यो । अन्तत परिवारसँग पुनर्मिलन गराउन सफल भयौ । धेरै खुशि लागेको छ ।’

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ मा थापाको एक छोरा बस्ने जानकारी आएसँगै वडाअध्यक्षको सम्पर्क गरेर पारिवारिक पुनर्मिलन गराइएको हो । थापाको श्रीमतीको भने मृत्यु भइसकेको पाइयो । यसरी सबैको पारिवारिक पुनर्मिलन भए सबै बुवा आमाहरु खुशि हुने मानव सेवा आश्रमका अभियान्त पौडेलको भनाई छ ।

मानव सेवा आश्रमलले सडकबाट उद्दार गरेको स्वदेशीको मात्रै मात्रै नभएर विदेशीहरुको पनि पारिवारिक पुनर्मिलन गराएको छ ।

मानव सेवा आश्रमले हालसम्म २ हजार बढी उद्धार गरेको आश्रितको परिवारको खोजि गरेर पुनर्मिलन गराएको छ । उनीहरुमध्ये ६० जना विदेशीलाई नेपालबाट उद्दार गरेर उनीहरुको परिवारसँग पुनर्मिलन गराएको छ । अहिले मानव सेवा आश्रममा १६ सय २३ जना आश्रितहरु बसेका छन् ।