हेटौंडाः खेतको चैते धान र बारीको मकै बालीमा छर्नुपर्ने युरिया मल मकवानपुर जिल्लामा पनि भित्रिन थालेको छ । करिब डेढ महिनादेखि युरिया मल आउन सकेको थिएन । गत शुक्रबारदेखि कृषि सामग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेशनले मल ल्याउन थालेको हो ।
मल भित्रिएसँगै दुबै निकायले सहकारीमार्फत मल वितरण सुरु गरेको छ । सरकारी सहुलियत अनुदानको युरिया मल आपूर्ति तथा वितरणमा सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा हरेक वर्षलाई चिन्ताको विषय बन्ने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनमा शुक्रबार २ गाडी अर्थात ४२ टन मल आएको थियो । यस्तै कृषि सामग्री कम्पनिमा १ सय ५ टन मल आइपुगेको छ । डेढ महिनाभन्दा बढी समयदेखि मलको आपूर्ति हुन नसक्दा कृषकको मागअनुसार वितरणमा समस्या हुने भन्दै अहिले ग्रामीण क्षेत्र लक्षित गरी मल विक्री गर्न सुरु गरिएको बताइएको छ ।
कृषि सामग्री कम्पनि लिमिटेड हेटौंडाका प्रमुख बलबहादुर पन्तका अनुसार १ सय ५ टन युरिया मल मंगलबारबाट वितरण गर्न सुरु गरिएको छ । मंगलबार बैंक खुलेकाले बैंकमा रकम जम्मा गरी भौचर लिएर आउने करिब ३५ वटा सहकारीलाई करिब ५५ टन मल वितरण गरिएको छ । बुधबार सार्वजनिक बिदा भएकोले बिहीबार बाँकी मल पनि विक्री गरिने पन्तको भनाइ छ ।
ढुवानी गर्ने ठेकेदारसँग सम्झौता हुन नसकेकोले आपूर्तिमा समस्या भएको र जेठ २ गते मल ढुवानी गर्ने सम्झौता भएसँगै मल आउन सुरु भएको र क्रमशः मल आउने र वितरण हुने पन्तले जानकारी दिनुभएको छ । कृषि सामग्री कम्पनि लिमिटेडले मंगलबार हेटौंडा उपमहानगर क्षेत्रका सहकारीलाई २५ बोराका दरले तथा गाउँपालिकाका सहकारीलाई ३० बोराका दरले मल विक्री गर्न सुरु गरेको छ ।
यता साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाले पनि ४२ टन मल हेटौंडा उपमहानगरको पदमपोखरी, कमाने, चौघडा, हटिया तथा थाहा नगरपालिका क्षेत्रका सहकारीलाई मल विक्री गरेको जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेश पाण्डेका अनुसार अब मलको आपूर्ति र वितरण क्रमशः सहज हुँदै जानेछ । साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडामा बीरगन्जबाट बिहीबार पनि मल आउने पाण्डेले बताउनुभएको छ । साताको दुईदिन मंगलबार र शुक्रबार मात्रै बैंक खुल्ने भएकोले सरकारीले बैंकमा रकम दाखिला गरेर मल खरिद गर्न भने समस्या हुने स्थिति छ ।