हेटौंडाः हेटौंडा अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा. रामचन्द्र सापकोटालाई प्रदान गरिएको छ । बागमती प्रदेश मातहतको हेटौंडा अस्पतालको निमित्त प्रमुखमा डा. सापकोटालाई नियुक्त गर्ने निर्णय बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भएको हो । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटालाई निमित्त मेसुमा नियुक्त गर्ने निर्णय सोमबार भएको हो ।
साढे ३ वर्षदेखि हेटौंडा अस्पतालमा कार्यरत डा. सापकोटा चितवनका स्थायीबासी हुनुहुन्छ । नेपाल सरकारको दशौं तहको चिकित्सकको रुपमा कार्यरत रहनुभएका डा. सापकोटाले स्वास्थ्य विज्ञानको स्नातक तह पोखरास्थित मणिपाल कलेजबाट अध्ययन गर्नुभएको हो भने स्नात्तकोत्तर तहको अध्ययन त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगन्जबाट पूरा गर्नुभएको हो । हेटौंडा अस्पतालका निमित्त मेसु डा. प्रविण श्रेष्ठले दुईसाताअघि राजीनामा दिनुभएको थियो ।