हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले केपि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अधिनायकवाद भएको बताएको छ । कांग्रेसले अर्का सरकार गठनको लागि भएको आह्वानमा पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरी दाबी नै गर्न नमिल्ने केपि शर्मा ओलीलाई नै निरन्तरता दिने कार्यको घोर भत्र्सना गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै सरकारको यस्तो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भनेका छन् । प्रधानमन्त्री र राष्ट्रिपतिको मिलेमत्तोमा बदनियपूर्ण ढंगले यस्तो कार्यहरु भएको उनले विज्ञप्तीमा जारी गरेको छन् । मध्य रातमा प्रतिनिधि सभाको हत्या हुनुले यसको प्रमाणीत गरेको छ ।
१४९ सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा राष्ट्रिपतिले शेरबहादुर देउवाको दाबीलाई इन्कार गर्दै पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परेको, अर्को पटक बहुमत देखाउन नसक्ने स्व घोषणा गरिसकेको ओलीलाई प्रधानमन्त्रीमा निरन्तर दिएको प्रति कांग्रेस मकवानपुरले आपत्ति जनाएको हो । संविधानको अक्षर र भावना अनुरुप प्रधानमन्त्रीमा दाबी गर्न नसक्ने अवस्था प्रष्ट देखिँदा समेत गैरसंवैधानिक दाबीलाई स्वीकर गरी प्रधानमन्त्रीमा निरन्तर दिनुलाई कांग्रेस मकवानपुरले असंवैधानीक मात्र नभएर अनैतिक भनेको छ ।
कांग्रेस मकवानपुरले यसको भत्र्सना र निन्दा गर्दै संघीय लोकतान्त्रिक, गणतन्त्र, र नेपालको संविधानको रक्षाको लागि सबै लोकतन्त्रबादी शक्तिलाई एकजुट भई संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध राजनीतिक र कानुनी लडाई लड्न सबै लोकतान्त्रिक शक्तिहरुलाई आह्वान गरेको छ ।