हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा पुरानै योजनाहरुलाई निरन्तरता दिने भएको छ । आगमी आर्थिक वर्ष २०७८/०८९ को बजेट विनियोजन गर्दा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा सुरु गरेका योजनाहरुलाई नै सम्पन्न गर्ने गरी बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।
आफ्नो कार्यकालको अन्तिम वर्षमा नयाँ योजना ल्याएर त्यसलाई अलपत्ररुपमा छाड्नुभन्दा पनि सुरु गरिएका योजनाहरुलाई नै पूर्णता दिने लक्ष्यका साथ बजेट विनियोजन गर्ने उहाँको भनाई रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सुरु गरेका पक्की पुल निर्माण, खानेपानीका योजना, गाउँपालिका भवन निर्माण, वडा कार्यालयहरुको भवन निर्माण, प्रत्येक वडामा स्वास्थ्य संस्थाको भवन निर्माणलगायतका कामहरुलाई सम्पन्न गर्ने मुख्य योजना बनाएर बजेट विनियोजन गरिने पनि उहाँले बताउनुभयो ।
पालिकाका सबै वडालाई गाउँपालिका कार्यालय रजैयासम्म सडक जोड्नका लागि चालु आर्थिक वर्षमा सुरु गरिएका ५ वटा दुईतर्फी सवारी चल्ने पक्की पुल निर्माण सम्पन्न गर्ने योजना गाउँपालिकाले पहिलो प्राथमिकतामा राख्ने भएको छ । पालिकाको चन्द्रा खोला, मसिने खोला, हाँडी खोला, ठाडे खोला र च्यापल खोलामा चालु आर्थिक वर्षमा ३३ करोड रुपैयाँ बजेट लागत लाग्ने गरी सुरु भएका पुल निर्माणलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त एक करोड ५० लाख रुपैयाँ र पालिकाको बजेट गरी १६ करोड रुपैयाँमा काम सुरु भएका ५ वटा पुलहरुलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिने भएको छ । ५ पुलको डीपीआर निर्माण गर्दा ५३ करोड रुपैयाँ लागत लाग्ने देखिएपनि ३३ करोड रुपैयाँमा सम्पन्न हुने गरी गाउँपालिकाले सम्झौता गरेको थियो । सम्झौतापछि ५ वटै पुल निर्माणको काम सुरु भइसकेको र अब वर्षाको कारण ३/४ महिना काम रोकिने भएकाले बाँकी काम आगामी आर्थिक वर्षमा मात्र सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
नयाँ जनप्रतिनिधि आएपछि कामलाई अघि बढाउन सहज हुने भन्दै आगामी आर्थिक वर्षमा राप्ती खोला र १ नम्बर खोलामा गरी थप २ वटा पुल निर्माण गर्न पनि डीपीआर तयार पारिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । योसँगै पालिकामा खानेपानी योजनाको कामहरु, गाउँपालिका भवन, वडा कार्यालय भवन तथा प्रत्येक वडामा स्वास्थ्य केन्द्र भवन निर्माणको काम गरिने उहाँले बताउनुभयो । यसबाहेकका पालिकामा आवश्यक पर्ने अन्य विकास निर्माणका कामहरु पनि पालिकाले गर्ने जनाएको छ । जसका लागि गाउँपालिकाले ७० देखि ७५ करोड रुपैयाँ बजेट बिनियोजन गर्ने जनाइएको छ ।
यसवर्ष ५० प्रतिशतमात्र बजेट निकासा
मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट हालसम्म ५० प्रतिशत बजेटमात्र निकासा गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित ७६ करोड रुपैयाँ बजेटमध्ये आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा जम्मा ५० प्रतिशत बजेटका योजनामात्र सम्पन्न भएको गाउँपालिकाका प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा मुख्य योजनाको रुपमा रहेको पक्की पुल निर्माणलगायत वडा कार्यालय भवन निर्माण, स्वास्थ्य केन्द्र भवन निर्माण, खानेपानी ट्याङ्की निर्माणलगायतका काम सकिन बाँकी रहेकाले सो कामको बजेट निकासा हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ८० प्रतिशत खर्च हुने चौलागाईंले बताउनुभयो ।
गाउँपालिकाको बजेटबाट ६ वटा वडामा वडा कार्यालय भवन निर्माण भइरहेको छ । पालिकाको १, २, ५, ६, ७ र ९ नं. वडामा ९० लाख रुपैयाँका दरले कुल ५ करोड ४० लाख रुपैयाँ बजेटमा वडा कार्यालय भवन निर्माणको काम भइरहेको जनाइएको छ । सोही वडाहरुमा २५ लाख रुपैयाँका दरले कुल एक करोड ५० लाख रुपैयाँ बजेटमा स्वास्थ्य केन्द्र भवन निर्माणको काम पनि सुरु भएको गाउँपालिकाले जनाएको छ । ४ नम्बर वडामा वडा कार्यालय भवन बनाउनका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिने भएको छ भने ३ र ८ नम्बर वडामा भने पुरानै वडा कार्यालय भवन रहेको छ ।
यस्तै, विभिन्न वडामा खानेपानीको योजनाअन्तर्गत् खानेपानी ट्याङ्की निर्माण गर्न ५ करोड रुपैयाँ बजेटमा काम सुरु भएको छ । यी सबै कामहरु चालु आर्थिक वर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिनुभयो । गतवर्ष र हाल फैलिएको कोरोना भाइरस संक्रमणका कारण योजना सम्पन्न हुन केही ढिला भएको उहाँको भनाई छ । साथै पालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि पनि बजेट खर्च गरिरहेको जनाइएको छ ।