हेटौंडाः राष्ट्रियसभाको लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यका लागि जेठ ६ गते हेटौंडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालेतर्फबाट उम्मेदवारी दिनुुभएका बहालवाला गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । देवकोटालाई कांग्रेस तथा एकीकृत नेकपा माओवादीको समर्थन रहेको छ । यद्यपि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ पनि चुनावी मैदानमा रहनुुभएको छ । नेमकिपासँग चुनाव जित्न आवश्यक मत नहुँदा थापा र देवकोटाबरुच कडा टक्कर हुने देखिएको हो ।
उपनिर्वाचनमा नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा भएको पार्टी महासचिव ईश्वर पोखरेलले जनाउनुभएको छ । उहाँले पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गर्नुभएको छ । उहाँले जेठ ६ गते हेटौंडामा हुने चुनावमा ९ बजेदेखि ३ बजेसम्म अनिवार्य उपस्थित भई पार्टीको चुनावचिन्ह सूर्यमा मतदान गर्न निर्देशित गर्नुभएको हो ।
यसैगरी एकीकृत नेकपा माओवादीले पनि आफ्नो सम्पूर्ण प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरुलाई डा. खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ । माओवादी बागमती प्रदेशका सह–इन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, बागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सक्षम, संघीयता, गणतन्त्रको ज्ञातासमेत रहनुभएका डा. खिमलाल देवकोटालाई कलम चिन्हमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ ।
बागमती प्रदेशसभामा कुल ११० सांसद रहेकोमा एक सांसदको निधन भएसँगै १०९ सांसदले मत दिँदैछन् । डा. खिमलाल देवकोटालाई माओवादीका २३ सांसद, कांग्रेसका २२ गरी कुल ४५ जना प्रदेश सांसदले मत दिने सम्भावना छ । यस्तै गृहमन्त्री थापालाई नेकपा एमालेका ५६ सांसदले मत दिने भएपनि माधवकुमार नेपाल निकट डा. देवकोटा भएका कारण ह्वीप उल्लंघन हुनसक्ने सम्भावना देखिएको छ । बिहीबार हुने निर्वाचनमा सहयोग गर्न माधवकुमार नेपाललाई भेट्न मंगलबार गृहमन्त्री रामबहादुर थापा नेपाल निवासमा पुग्नुभएको थियो ।
यता नेमकिपाको दुई प्रदेश सांसदको मत कृष्णबहादुर तामाङले प्राप्त गर्नुहुनेछ । उहाँलाई भक्तपुर नगरपालिकाका एक मेयर र उपमेयरले पनि मत दिनेछन् । नेमकिपाका तामाङलाई दुई सांसद, एक मेयर र एक उपमेयरले मत दिँदा १ सय ३२ मत प्राप्त हुनेछ । अन्य पार्टीहरुले चुनावमा मतदान गर्न ह्वीप जारी गरेपनि नेमकिपालाई ह्वीप जारी गर्न आवश्यक नभएको पार्टीका नेता सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा प्रदेशको ११९ स्थानीय तहका २३८ प्रमुख÷उपप्रमुख तथा १०९ प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । मतदाताहरुले मतदान गर्न आउँदा अनिवार्य कोरोनाको पीसीआर रिपोर्ट देखाउनुपर्नेछ । कोरोना पोजेटिभहरुले भने छुट्दै मतदान केन्द्रबाट मत दिन पाउनेछन् । यसअघि दुई मतदान केन्द्र तोकिएपनि सङ्क्रमितको लागि छुट्टै मतदान केन्द्र समेत तोकिनेछ । उपनिर्वाचन हेटौंडाको भूटनदेवी माविमा हुनेछ ।
यसैबीच जेठ ६ गते उपनिर्वाचनमा मत दिन आउने मतदाताहरुको बसोबासका लागि हेटौंडाका केही होटलहरु खोलिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ६ वटा होटलहरुलाई सञ्चालन गर्न भनिएको जानकारी दिनुभयो । अहिलेसम्म कति मतदाता बस्ने टुंगो लागेको छैन । ७० प्रतिशत मतदाता फर्कने मौखिक जानकारी आएको उहाँले बताउनुभयो । टाढाबाट आएकाहरुलाई व्यवस्थापन गर्न केही होटलहरु खोलिने उहाँको भनाई छ ।
,