शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले साढे ४ महिनापछि प्रमुख पाएको छ । यसअघिका इकाई प्रमुख लिलानाथ गौतमको अनिवार्य अवकास प्राप्त गरेपछि रिक्त रहेको इकाई प्रमुखमा उपसचिव प्रेमराज खरेलले जिम्मेवारी प्राप्त गर्नुभएको छ । खरेल यसअघि खेलकुद मन्त्रालयमा हुनुहुन्थ्यो । खरेलले आइतबारदेखि जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रेमराज खरेल

साढे ४ महिना शाखा अधिकृत कृष्णप्रसाद पौडेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । साविक जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत तथा विद्यालय निरीक्षकको जिम्मेवारी निर्वाह गर्नुभएका खरेल मकवानपुर जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ । आइतबार कर्मचारी मिलन केन्द्र मकवानपुरले स्वागत गरेको छ ।

विद्यालय तहको शिक्षा स्थानीय सरकारले हेर्ने, उच्च शिक्षा प्रदेश र संघीय सरकारले हेर्ने नयाँ व्यवस्थासँगै साविकको जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विकास तथा समन्वय इकाईमा खुम्च्याइएको हो । इकाईकै औचित्यमाथि प्रश्न खडा भइरहेका बेला शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले भने स्थानीय सरकारका शिक्षा शाखासँगको समन्वयमा शैक्षिक क्रियाकलाप गर्दै आएको छ ।