हेटौंडाः हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले बजेट लगानी गर्ने भएको छ । बिरामीका लागि आवश्यक पर्ने अक्सिजन प्रबन्ध गर्न अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने तयारी अनुरुप प्लान्ट व्यवस्थापनका लागि लाग्ने करिब १ करोड २८ लाख रुपैयाँ हेटौंडा उपमहानगरपालिकाले लगानी गर्ने भएको हो ।
कोरोना भाइरस (कोभिड –१९) को महामारीमा अक्सिजन अभावले नागरिकको ज्यान गइरहेका बेलामा अस्पतालका बिरामीलाई अक्सिजन अभाव नहोस् भन्नका लागि आफूले अरु योजना कटौती गरेर भएपनि १ करोड २८ लाख रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेको मेयर हरिबहादुर महतले जानकारी दिनुभएको छ । तर सरकारी कार्य भएकाले टेन्डर प्रकृया झन्झटिलो र समय लाग्दा तत्कालै प्लान्ट स्थापना गर्न भने अन्यौलता भएको उहाँले बताउनु भयो । मेयर महतले अक्सिजन अभावका कारण कसैको ज्यान नजाओस् भन्ने सोचले आफूले सरोकारवालासँग छलफल समेत गरिसकेको जानकारी दिनुभयो ।
अस्पतालमा राख्ने तयारी गरिएको भनिएको अक्सिजन जेनेरेटर प्लान्ट मार्फत अस्पतालमा भर्ना भएका बिरामीको बेडसम्म अक्सिजन पुर्याउन सकिने जनाइएको छ । अक्सिजन उत्पादन तथा विक्री वितरणका लागि नभई अस्पतालमा भर्ना भएका अक्सिजन चाहिने बिरामीका लागि आवश्यक अक्सिजन उपलब्ध गराउनका लागि जेनेरेटर प्लान्टको बारेमा तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल हातामा राखिने पीएसए जेनेरेटर सिस्टममार्फत ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुने जनाइएको छ । यसबाट दैनिक १२५–१३५ वटा सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुनेछ । प्लान्ट स्थापना तथा संचालनका लागि विज्ञको टोली आई आवश्यक अध्ययन गर्ने तयारी पनि भइरहेको अस्पताल संचालक मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिनुभयो ।