हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा कोरोना भाइरस परीक्षणका लागि आइतबार १ सय ४५ जनाको स्वाब संकलन गरिएको छ । बिहान ६ बजेदेखि ८ बजेको समयमा स्वाब संकलन गरिँदै आएको छ ।
जिल्लास्थित स्वास्थ्य संस्थाबाट परीक्षणका लागि सिफारिस भएर आएका व्यक्तिको स्वाब नमूना संकलन गरी दैनिक रुपमा परीक्षण गरिँदै आएको स्वाब नमूना संकलन केन्द्रका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । निषेधाज्ञाका कारण कोरोना संक्रमण परीक्षणका लागि स्वाब नमुना दिन आउने सर्वसाधारणको संख्यामा कमि आएको चौलागाईको भनाइ छ ।
स्वाब नमूना दिन आउने मध्ये सामान्य लक्षण भएका ५० प्रतिशत, कोरोना संक्रमणकै कारण स्वास्थ्यमा समस्या देखिएकाहरु १० प्रतिशत र ४० प्रतिशत सामान्य अवस्थाका सर्वसाधारण आउने गरेका छन् । गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रले दैनिक रुपमा स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउनुका साथै प्राप्त नतिजालाई सार्वजनिक गर्दै आएको छ ।