फाइनल खेलभन्दाभन्दा १ दिन अघिको प्रिम्याच कन्फ्रेन्समा उपाधी शिल्डका साथ धनगढी र काठमाडौंका कप्तान ।

हेटौंडाः नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधिका लागि आज शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ३५ लाख रुपैयाँ धनराशिको उपाधी हात पार्न आज यी दुई टिमबिच कडा प्रतिस्पर्धा हुँदै छ ।

खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । काठमाडौं र धनगढी जारी पहिलो संस्करणमा नै तेस्रो पटक आमने–सामने हुँदै छन् । यसअघि भएका दुवै खेलमा काठमाडौंलाई पराजित गरेको धनगढी फाइनलमा पनि जित हात पार्दै उपाधी चुम्ने लक्ष्यमा रहेको छ ।

काठमाडौंलाई भने उपाधीका साथै अघिल्लो दुई खेलमा व्यहोर्नुपरेको हारको बदला लिने अवसर हुनेछ । जारी सिजनमा धनगढीले काठमाडौंलाई समुहचरणको लिग खेलमा ३–० गोलअन्तरले र प्लेअफको पहिलो खेलमा अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गरेको थियो ।

दुवै टोलीका कप्तान एवं प्रशिक्षकले फाइनलको पूर्वसन्ध्यामा खेलबारे आफ्नो धारणा प्रस्तुत गर्दै उपाधि जित्ने उद्देश्यका साथ मैदानमा उत्रने बताएका छन् । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपविजेताले भने १५ लाख रुपैयाँ हात पार्नेछन् ।व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।