अक्सिजन सिलिण्डर संकलन गर्दै बागमती प्रदेश प्रहरी । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन प्रदेश नम्बर १ र २ बाट ल्याइने भएको छ । अक्सिजनको अभावमा उपचाररत विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको हेटौंडा अस्पतालले शुक्रबार अक्सिजन व्यवस्थापनका लागि पहल गरेको हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभएको छ ।

प्रदेश सरकार स्थानीय प्रशासनसहित सरोकारवालाको पहलमा प्रदेश नम्बर १ को मोरङ र सुनसरीबाट शनिबार साँझसम्ममा एक सय सिलिण्डर अक्सिजन आइपुग्ने प्रसाईले जानकारी दिनुभएको छ । यस्तै प्रदेश नम्बर २ को पर्साबाट ५० सिलिण्डर र नुवाकोटबाट पनि २५ सिलिण्डर अक्सिजन आइपुग्ने अध्यक्ष प्रसाईले बताउनुभयो ।

हेटौंडा अस्पतालमा अहिले ४५ जना कोभिड–१९ संक्रमितको उपचार भइरहेको छ । बिरामीको चापअनुसार अक्सिजनको खपत कम–बढी हुने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रसाईले भन्नुभयो, ‘अहिलेकै अवस्थामा दैनिक करिब २४० सिलिण्डर अक्सिन आवश्यक देखिन्छ । आवश्यक अक्सिजन नियमित व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेका छौं ।’