हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको बजेट हिनामिना भएको तथा सन्तोषजनक कार्य नगरेको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकामा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्य समितिले गत बैशाख २० गते गाउँपालिकामा भएको विकास निर्माणलगायत कार्यहरुमा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्न मकवानपुरगढी गाउँपालिकासमक्ष माग गरेको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकामार्फत् आर्थिक वर्ष २०७७/०७८ को वडामा विनियोजित सिलिङ बजेटबाहेक पालिका अध्यक्षको निर्णयमा सञ्चालित योजनाहरुमा कांग्रेसले अनियमितता भएको आशंका गरेको हो ।

गाउँपालिकाले गत चैत्र १६ गतेदेखि ३१ गतेसम्म सामरी खोलाबाट निकालिएको नदीजन्य पदार्थको परिमाण यथार्थ नभएको कांग्रेसले आरोप लगाएको छ । निकालिएको नदीजन्य पदार्थको सही परिमाण जनतालाई देखाएको छैन र आर्थिक अनियमितता गर्ने उद्देश्यले गुपचुप गर्ने प्रयास भएको विज्ञप्तिमा जनाइएको छ ।

गाउँपालिका अध्यक्षको मातहतमा रहेको पालिकाको ठूला बजेटका परियोजनाहरु एकाङ्की र आस्थाका आधारमा एकल निर्णयबाट गर्ने गरिएको आरोप लगाइएको छ । घरघरमा काम–हातहातमा दाम, असहायसँग अध्यक्षजस्ता शीर्षकमा नीतिविपरित आर्थिक स्रोत आसेपासे र मुठ्ठीभर कार्यकर्ताको पालनपोषणमा केन्द्रित भएको विज्ञप्तिमा जनाइएको छ । असहाय, गरिब, सुकुम्बासी, दलितजस्ता न्यून आर्थिक अवस्थाका घरपरिवारलाई वितरण गर्ने भनिएको जस्तापाता, गाई, बाख्रा वितरण कार्य नितान्त २४ क्यारेटवाला कार्यकर्ताको घरमा पुर्‍याउने गरिएको कांग्रेसले आरोप लगाएको छ ।

गाउँपालिकाले गरेका कतिपय कार्यहरु कार्यकर्ता जय होस् भन्नेभन्दा माथि उठ्न नसकेको प्रष्ट देखिएको भन्दै कांग्रेसले विरोध जनाएको हो । उपसमितिमा रहेका सम्पूर्ण संयोजक तथा सदस्यहरुले यसै प्रेस विज्ञप्तिमार्फत् संयुक्तरुपमा राजीनामा दिएको घोषणा गरिएको छ । अतिरिक्त करमा पूर्णरुपमा छुट गरिनुपर्ने, सेवाग्राहीलाई सहज हुनेगरी चौबीसै घण्टा सेवा उपलब्ध गरिनुपर्ने, कोभिडका कारण प्रभावित पीडितहरुको यथाशिघ्र तथ्यांक संकलन गरी उनीहरुलाई उचित राहतको व्यवस्थापन गरिनुपर्ने मागसमेत कांग्रेसले राखेको छ ।

विज्ञप्तिमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यबहादुर रुम्बा र नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले हस्ताक्षर गर्नुभएको छ ।