बागमती प्रदेश प्रहरीको मुख्यालय भवनको प्रस्तावित संरचनाको चित्र ।

हेटौंडाः करिब ३२ करोड लागतमा बागमती प्रदेश प्रहरीको मुख्यालय भवन निर्माण हुने भएको छ । शनिबार भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले भवन शिलन्यास गर्नुभएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत भवन निर्माण हुन लागेको हो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ १४ हजार १ सय ८१.६८ वर्गफिट क्षेत्रफलको भवन निर्माण हुने बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि ५ करोड बजेट निकासा भएकोमा टेण्डर प्रक्रिया सवै सम्पन्न गरी ३ करोड ३ लाख २४ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।

प्रदेश प्रहरीको मुख्यालयको शिलान्यास गर्नुहुँदै सचिव मदन भुजेल ।

नेपाल प्रहरीको समायोजन पश्चात प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन भवनको आवश्यकताअनुसार निर्माण थालिएको बताइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी इकाई निर्माण सम्पन्न भइसकेका छन् भने १२ वटा प्रहरी इकाई निर्माणाधिन अवस्थामा छन् । चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी इकाई निर्माणका लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हालसम्म ६७ वटा प्रहरी इकाईहरु निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेट उपलब्ध गराएको छ ।