हेटौंडाः बागमती प्रदेश सरकारले २ सय थान अक्सिजन सिलिन्डर खरिद गर्ने भएको छ । तत्कालका लागि स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशले खरिद प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुगमबाहेकका जिल्लाहमा स्वास्थ्यकर्मी माग अनुसारको पूर्ति गर्न सकेको छैन । दुर्गम जिल्लाहरुको अस्पतालमा पनि स्वास्थ्यकर्मीहरु पठाउने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताउनुभयो । उहाँँले केही अस्पतालहरुमा मात्रै स्वास्थ्यकर्मी पर्याप्त नभएको जानकारी दिनुभयो ।

अहिले देशैभरका अस्पालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव भइरहेको छ । बागमतीमा पनि अस्पतालहरुले दरखास्त आह्वान गरेर स्वास्थ्यकर्मी पदपूर्ति गरिरहेको भन्दै सुगममा काम गर्न इच्छुकहरु मध्येबाट सर्टलिस्ट भएका र दुर्गममा जान चाहनेलाई पठाउने तयारी भइरहेको उहाँँले बताउनुभयो ।

प्रदेश सरकारको मातहतमा रहेको नुवाकोटको त्रिशुली अस्पतालमा जनशक्ति अभाव हुँँदा कोभिड संक्रमितहरुको उपचार गर्न सकस परेको छ । त्रिशुली अस्पतालको कोभिड जनरल वार्डमा ३१ जना संक्रमितहरु उपचार गराइरहेका छन् । ५ जना आईसीयू र २ जना भेन्टिलेटरमा गम्भीर संक्रमितहरु उपचाररत छन् ।

त्रिशुली अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव हुँँदा कोभिड बेड बढाउँँदै लैजान समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अहिले ४० संक्रमितलाई उपचार दिन सक्ने भएपनि ५० बेडसम्म पुर्‍याउन आवश्यक छ । ‘संक्रमितलाई उपचार गर्ने बेडमात्र बढाएर के गर्नु जनशक्ति नै कम भएपछि’, मेसु पाण्डेले भन्नुुभयो, ‘जसोतसो हामीले व्यवस्थापन गरिरहेका छौं ।’

शुक्रबार त्रिशुली अस्पतालमा २ वटा भेन्टिलेटर जडान गरिएको छ । यसअघि २ भेन्टिलेटर सञ्चालनमा थिए । अस्पतालले पहिल्यै खरिद गरेर राखेको भेन्टिलेटर जडान भएको हो । अस्पतालमा ४ वटा हाइडिपेन्डेन्सी (एचडीयू) बेड भएपनि कोभिड–१९ संक्रमितका लागि प्रयोगमा ल्याइएको छैन । ‘अस्पतालले कोभिड संक्रमितबाहेकका बिरामीहरुलाई पनि उपचार गर्दै आएको छ । उनीहरुलाई आवश्यक परेमा एचडीयू बेडमा राख्ने गरेका छौं’, अस्पताल प्रमुख पाण्डेले भन्नुभयो ।

अस्पतालले अक्सिजन प्लान्ट राखेर आफैं अक्सिजन उत्पादन गर्दै आएको छ । अन्य अस्पतालहरुमा अक्सिजन नभएर सन्त्रास भइरहेको समयमा त्रिशुली अस्पतालमा अक्सिजन अभाव छैन । अस्पतालमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका नागरिकहरुको पीसीआर परीक्षण पनि हुँँदै आएको छ ।

यसैगरी हेटौंडा अस्पतालमा पनि स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । हेटौंडामा अक्सिजन प्लान्ट बन्ने योजना रहेको छ भने हालका लागि पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्थापन भएको छ । तर स्वास्थ्यकर्मीको अभाव देखिन थालेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभएको छ । उहाँँले यसको परिपूर्तिका लागि हेटौंडा उपमहानगरले आवश्यक स्वास्थ्यकर्मीलाई काजमा अस्पतालमा खटाउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठले निर्णय गरेको बताउनुभयो ।