हेटौंडाः निषेधाज्ञाकै बीच आज हेटौंडा बजारको ५ वटा पसलहरुमा अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला अनुगमन समितिले आज बजारमा अनुगमन गरी दुई पसललाई दश–दश हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।

हेटौंडा–४ स्थित श्रीराम सप्लायर्स र न्यू सफल डेरीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपानेले जानकारी दिनुभयो । उनीहरुले अनुमित लिएको भन्दा बाहेकका सामग्री बेच्दै आएका थिए ।

यस्तै एनकेबी स्टोरबाट म्याद गुज्रेको खाद्यवस्तुहरु जफत गरिएको उहाँले बताउनुभयो । यस्तै शाह मेडिकलमा आज अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । औषधी बेच्ने अनुमति लिएर बिरामी जाँच गरिएको पाइएको भन्दै मेडिकल दर्ता ७ दिनभित्र गर्न र बिरामी जाँच नगर्न निर्देशन अनुगमन समितिले दिएको उहाँको भनाई छ ।


उहाँले जिल्लामा निषेधाज्ञा लागू भएपनि बिहान ९ बजेसम्म बजार अनुगमन हुने बताउनुभयो । आज बिहान ८ बजेदेखि ९ बजेसम्म बजारमा अनुगमन भएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञामा पहिलेको भन्दा मुल्य बढाएर लिएमा त्यस्तो व्यवसायको जानकारी गराउन समेत अनुरोध गरेको छ ।