हेटौंडाः देशमै पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) कोरोना महामारीका बावजुद पनि काठमाडौंको दशरथ रंगशालामा जारी छ । कोरोनाको कारण बन्द रंगशालामा खेल गर्नु परेकाले प्रत्यक्षरुपमा दर्शक गुमाएको प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन उत्तिकै उत्कृष्ट बन्दै गएको छ ।

शहरका नाममा रहेका सात टिममध्ये ४ टिममा मकवानपुरका ६ जना खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्ने मौका पाएका छन् । प्रतियोगिताको लागि अक्सनबाट तथा मार्की खेलाडीका रुपमा २० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँको पारिश्रमिकमा खेलाडी खरिद गरिएका छन् । मकवानपुरबाट खेल जीवन सुरु गरेका ६ खेलाडीहरुले एनएसएलमा खेल्न पाउनु सबै मकवानपुरे खेलप्रेमीको लागि गर्वको कुरा रहेको छ । यस्तै खेलाडीहरुले पनि आफ्नो उत्कृष्ट खेल पस्कँदै टिममा महत्वपूर्ण खेलाडीको रुपमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगिताका लागि ललितपुर सिटी फुटबल क्लबले मार्की खेलाडीका रुपमा अञ्जन विष्टसहित अक्सनबाट रञ्जन विष्ट र रोहित कार्कीलाई खरिद गरेको थियो भने विराटनगर सिटी फुटबल क्लबले सुनिल बललाई अक्सनमार्फत खरिद गरेको थियो । यस्तै अक्सनमा ५ क्लबले सर्वाधिक बोली लगाएर गोलाप्रथाबाट बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो टिममा पार्न सफल भएका खेलाडी अमीर श्रेष्ठ जारी लिगमा चर्चित खेलाडी बनेका छन् । यस्तै विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका मकवानपुरका अर्का खेलाडी विमल पाण्डेलाई काठमाडौं रेजर्सले अक्सनमार्फत् नै आफ्नो टिममा पार्न सफल भएको थियो ।

जारी प्रतियोगितामा हालसम्म सबै क्लबले तेस्रो चरणसम्मका खेल खेलिसकेका छन् भने चौथो चरणका खेल सुरु भएको छ । धनगढी, ललितपुर सिटी र पोखरा थन्डर्स फुटबल क्लबले ४ खेल खेलिसकेको छ भने बाँकी सबै क्लबले ३/३ खेल खेलेका छन् । हालसम्म मकवानपुरे खेलाडी आबद्ध क्लबहरुको खेल प्रतिस्पर्धात्मक तथा उत्तिकै उत्कृष्ट रहेको छ । अमीर श्रेष्ठ सम्मिलित बुटवल लुम्बिनीले ३ खेलमा १ जित र १ खेल बराबरी खेल्दै ५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै सुनिल बल सम्मिलित विराटनगर १ जित, १ बराबरी र १ हारबाट ४ अंकसहित चौथो तथा काठमाडौं समान ४ अंक भएपनि गोलअन्तरका आधारमा पाँचौं र ललितपुर ४ खेल खेल्दै ३ खेलमा बराबरी र १ खेलमा हार व्यहोर्दै ३ अंकका साथ समूहको छैठौं स्थानमा रहेको छ ।

अंकका आधारमा समूहको तलमाथि जहाँ रहेपनि अन्तिम चरणको खेल नसकिँदासम्म कस्को टिमले जित्छ भन्ने अनुमान लगाउन कठिन पर्छ । नेपाल सुपर लिगमा विभिन्न क्लबमा आबद्ध मकवानपुरे खेलाडीहरुको बारेमा केही जानकारी संकलन गरिएको छ ।

अञ्जन विष्ट : नेपालको राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईका खेलाडी अञ्जन विष्टलाई ललितपुर सिटी फुटबल क्लबले मार्की खेलाडीको रुपमा खरिद गरेको हो । उनले ललितपुरको टिममा कप्तानी भूमिका निर्वाह गर्दै आफ्नो खेल प्रदर्शन गरिरहेका छन् । उनलाई ललितपुरले ५ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । उनी फरवार्ड पोजिसनमा खेल्ने गरेका छन् ।

ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबमा समेत आबद्ध अञ्जनले २०७० सालमा विभागीय क्लब एपीएफमा आबद्ध भएर आफ्नो व्यावसायिक फुटबल सुरु गरेका थिए । करिब साढे ३ वर्ष एपीएफमा खेलेका अञ्जनले युरोपको सम्भावनालाई समेत प्रयास गरेका थिए । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पदक जितेका अञ्जनले २०७५ सालबाट मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएर फुटबल खेलिरहेका छन् ।


रञ्जन विष्ट : २०६७ सालबाट विभागीय क्लब एपीएफमा आबद्ध हुँँदै आफ्नो व्यावसायिक फुटबल सुरु गरेका रञ्जनले ७ वर्षसम्म एपीएफमा रहेर आफ्नो खेल प्रदर्शन गरेका थिए । २०७५ सालमा भएको ए डिभिजन फुटबलमा १ वर्षका लागि थ्रीस्टार क्लबमा आबद्ध भएका रञ्जन त्यसयता भने मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएर फुटबल खेलिरहेका छन् ।

फरवार्ड पोजिसनमा खेल्ने रञ्जनलाई ललितपुरले अक्सनमार्फत् ५० हजार रुपैयाँँमा खरिद गरेपछि भाइ अञ्जनसँँगै एनएसएलमा एउटै टिमबाट खेल प्रदर्शन गर्ने मौका पाएका हुन् । अखिल नेपाल फुटबल संघले जारी गरेको अक्सन सूचीमा उनी ‘बी ग्रेड’ मा परेका थिए । जारी लिगको तेस्रो खेलमा धनगढीसँँग १–० गोलले पछाडि परेको अवस्थामा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका रञ्जनले मैदान प्रवेश गरेलगत्तै गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाउँँदै १–१ गोलको बराबरीसँँगै १ अंक जोड्न सफल भएका थिए ।

अमीर श्रेष्ठ : बुटवल लुम्बिनी फुटबल क्लबमा आबद्ध अमीर केही महिना यतादेखि फुटबलमा निकै चर्चित रहेका छन् । मकवानपुरकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत गत चैतमा सम्पन्न तेस्रो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँँदै साढे ५ लाख मूल्य बराबरको बुलेट बाइक जित्न सफल अमीर पछिल्लो समय विभिन्न प्रतियोगिताहरुमा नियमित खेल पस्कँँदै आएका छन् ।

अखिल नेपाल फुटबल संघले जारी गरेको अक्सन सूचीमा ‘बी ग्रेड’ मा परेका अमीरलाई अक्सनमा ५ वटा टिमले सर्वाधिक १ लाख २० हजार रुपैयाँँको बोली लगाएको थियो । जसमा गोलाप्रथाबाट बुटवल लुम्बिनी फुटबल क्लबले अमीरलाई आफ्नो टिममा पार्न सफल भएको थियो । जारी लिगमा ३ खेलसम्म बुटवल लुम्बिनीले हार व्यहोरेको छैन । ३ खेलमा १ जित र २ बराबरी खेलेको बुटवल लुम्बिनीको पहिलो खेलमा जित हासिल गर्न महत्वपूर्ण खेल पस्केका अमीरले खेलको इमर्जिङ प्लेयर अफ दि म्याच हुँँदै १० हजार रुपैयाँँसमेत हात पारेका थिए ।

विङ्गर पोजिसनबाट खेल्ने अमीर २०६० सालमा एन्फा एकेडेमीमा रहेर यू–२३ उमेर समूहमा राष्ट्रिय टिमबाट खेल्दै २०६५ सालमा थ्रीस्टार क्लब, २०६६ सालमा एपीएफ क्लब, २०६८ सालमा मछिन्द्र क्लब हुँँदै २०६९ सालमा मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका थिए । २०७१ सालमा कतार गएर २ वर्षपछि स्वदेश फर्किएका अमीरले पुनः मनाङ मस्र्याङ्दी क्लबमा नै रहेर खेल खेलेका थिए । कतार रहँँदासमेत फुटबल खेलेका अमीरले २०७५ सालको ए डिभिजन फुटबल प्रतियोगिताबाट च्यासल क्लबमा खेल्दै आएका छन् ।

सुनिल बल : मकवानपुरका स्टार खेलाडी सुनिल बल विराटनगर सिटी फुटबल क्लबमा आबद्ध छन् । राष्ट्रिय फुटबल टिमका सदस्यसमेत रहेका सुनिलले १३ औं साग फुटबलमा नेपाललाई फाइनलमा पु¥याउन महत्वपूर्ण गोल गरेका थिए भने फाइनलमा पनि उत्तिकै राम्रो खेल प्रदर्शन गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका थिए । नेपालका चर्चित खेलाडीका रुपमा रहेका सुनिल २०७५ सालमा भएको बगबन्धु फुटबल र साफ च्याम्पियनसिपबाट अझ बढी चर्चामा आएका थिए ।

मिडफिल्डर पोजिसनबाट खेल्ने सुनिल अखिल नेपाल फुटबल संघले जारी गरेको अक्सन सूचीमा ‘ए ग्रेड’ मा परेका थिए । उनलाई अक्सनमा सर्वाधिक २ लाख रुपैयाँँको बोली लागेको थियो । जसमा गोलाप्रथाबाट विराटनगर सिटी फुटबल क्लबले सुनिललाई आफ्नो टिममा पार्न सफल भएको थियो । २०६९ सालबाट थ्रीस्टार क्लबमा आबद्ध हुँँदै ए डिभिजन लिग खेलेका सुनिल हालसम्म पनि थ्रीस्टार क्लबमा आबद्ध छन् ।

विमल पाण्डे : मकवानपुर फुटबलमा राम्रो छाप छोड्दै २०६५ सालमा नेपाल आर्मी भर्ती भएका विमल विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबमा नै रहेर हालसम्म पनि फुटबल खेलिरहेका छन् । आर्मीको नियमित ड्युटीसँँगै उनले नेपाली फुटबलमा पनि राम्रो स्थान बनाउन सफल भएका छन् ।

राष्ट्रिय टिमबाट तथा नेपाल आर्मीबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका विमलले २०७६ सालको ए डिभिजन लिग फुटबलमा पनि उत्तिकै राम्रो खेल पस्कँँदै टिमलाई उपविजेता बनाउन सफल भएका थिए । डिफेन्डर पोजिसनबाट आफ्नो खेल प्रस्तुत गर्ने विमललाई अखिल नेपाल फुटबल संघले जारी गरेको अक्सन सूचीमा ‘सी ग्रेड’ मा राखेको थियो । उनलाई अक्सनमा सर्वाधिक ७५ हजार रुपैयाँँमा बोली लगाउँँदै काठमाडौं रेजर्सले खरिद गरेको थियो ।

रोहित कार्की : गोलरक्षक रोहित कार्की मकवानपुरका उदीयमान खेलाडी हुन् । यू–१४ उमेर समूहबाट राष्ट्रिय टिममा पर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा साफ यू–१६ च्याम्पियनसिपमा समेत खेल प्रस्तुत गरेका रोहित २०७५ सालमा १६ वर्षको उमेरमा नै मछिन्द्र क्लबबाट ए डिभिजन लिग फुटबलमा डेब्यू गरेका थिए ।

अखिल नेपाल फुटबल संघले जारी गरेको अक्सन सूचीमा उनलाई ‘सी ग्रेड’ मा राखिएको थियो ।
अक्सनमा ललितपुर सिटी फुटबल क्लबले रोहितलाई २० हजार रुपैयाँँमा खरिद गरेको थियो । उनी खेलमा अतिरिक्त गोलरक्षकका रुपमा रहेका छन् । उनको फुटबलको सुरुवात भने हेटौंडा फुटबल एकेडेमी र पिप्ले युवा क्लबबाट भएको थियो ।