हेटौंडाः कोरोना भाइरस संक्रमणकोे जोखिम कम गर्न बजार क्षेत्रमा भिडभाड रोक्ने उद्देश्यले गरिएका कतिपय निर्णय तथा आदेशको पूर्ण पालना हुन सकेको छैन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले भिडभाड नियन्त्रण गर्न गरेका निर्णयलाई व्यवसायी तथा सर्वसाधारणले अटेर गर्दा कोरोना संक्रमणको जोखिम बढेको हो ।
सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई दुईपाङ्ग्रे सवारीले पूर्ण पालना गरेको देखिँदैन भने अन्य सवारी पनि फाट्टफुट्ट सञ्चालन भइरहेको पाइन्छ । जोरबिजोर प्रणालीका कारण स्थानीय रुटमा चल्ने यात्रुबाहक सवारी संख्या कम हुँदा क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम बढेको छ ।
बसपार्क तथा खोपेगल्लीका तरकारी पसल बिहान ८ बजेपछि बन्द गर्न भनिए पनि खोपेगल्लीका कतिपय व्यापारीले लुकीलुकी बिक्री गरिरहेको पाइएको छ । बसपार्क क्षेत्रमा पनि व्यापारीले ठेलामा राखेर तरकारी बिक्री गरिरहेको पाइन्छ । बजारका अन्य क्षेत्रमा रहेका तरकारी पसलहरु बन्द प्रहरी तथा नगरप्रहरीले बन्द गराउँदै हिँड्नुपरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुको समन्वयमा आलोपालो गरेर खुला गरिएको सबै प्रकारका व्यवसाय पनि बन्द हुन सकेका छैनन् । सुुरक्षाकर्मीको उपस्थिति रहने मुख्य बजार क्षेत्रमा पसल बन्द गरिए पनि भित्री भागमा अधिकांश व्यवसाय खुला नै रहेको पाइन्छ । बजार क्षेत्रमै पनि व्यवसायीहरु पसलको सटर तथा ढोकामा ग्राहक ढुकेर बस्ने गरेका छन् ।
व्यवसायी तथा सर्वसाधारणले कोरोना संक्रमणको जोखिमलाई नजरअन्दाज गरेर निर्णयको अवज्ञा गरिदिँदा संक्रमण न्यूनीकरणको प्रयास निरर्थक हुने देखिन्छ । आफूले आफ्नै स्वास्थ्य सुरक्षामा लापरबाही गर्ने खेलवाड गर्नेक्रमले कोरोना भइरसको महामारी विकराल बन्ने सम्भावनालाई गम्भीररुपमा लिनु आवश्यक छ ।