जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर व्यवस्थापन गर्दै लायन्स क्लबका पदाधिकारीहरु ।

हेटौंडाः कोरोना संक्रमित भई अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुको संयुक्त प्रयासमा स्थापना गरिएको अक्सिजन बैंकमा ३० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ ।

बुधबार र बिहीबार दुईदिनको तयारीमा लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० केजी तौलका ३० सिलिण्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक तथा लायन्स क्लब अफ हेटौंडा बजार ग्रीन सिटीका अध्यक्ष राजेश वाग्लेले जानकारी दिनुभएको छ । लायन्स क्लबले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो ।

लायन्स क्लबले अक्सिजन बैंक जिल्ला प्रहरी कार्यालय परिसरमै स्थापना गरेको छ । अक्सिजन आवश्यक पर्ने विरामीको आफन्तले चिकित्सकको सिफारिस तथा सम्बन्धित वडा अध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाएको छ । अक्सिजन बैंक स्थापना गर्न हेटौंडास्थित अक्सिजन ग्यास विक्रेता कुन्दन ट्रेड कन्सर्नका सञ्चालक नन्दकिशोर साहले धरौटी नराखी ३० थान सिलिण्डर उपलब्ध गराएर सहयोग गरेको संयोजक वाग्लेले जानकारी दिनुभएको छ । १० केजीको एक सिलिण्डर अक्सिजनको ६ सय ५० रुपैयाँ पर्छ भने अक्सिजन सिलिण्डरको धरौटी १५ हजार रुपैयाँ पर्छ ।