Home मुख्य समाचार बनेलधाप खानेपानी योजना बोर्डलाई हस्तान्तरण

बनेलधाप खानेपानी योजना बोर्डलाई हस्तान्तरण

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी योजनाको कागजपत्र हस्तान्तरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत

हेटौंडाः हेटौंडा–१४, बनेलधापस्थित बनेलधाप कालोपानी खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । गत फागुनदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरी बुधबार पूर्णरुपमा योजना हस्तान्तरण गरिएको हो ।

बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोहन सिंह मोक्तानले वडा अध्यक्ष दीपक खड्काको उपस्थितिमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतमार्फत बोर्डका अध्यक्ष प्रताप विष्टलाई कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।

४ सय ५ घरपरिवार उपभोक्ता रहेको समिति बोर्डमा हस्तान्तरण हुने नगरक्षेत्रको पाँचौं उपभोक्ता समिति हो । नगरक्षेत्रका विभिन्न स्थानमा उपभोक्ता समितिले खानेपानी योजना सञ्चालनमा समस्या भोगिरहेका बेला उपमहानगरलाई नै हस्तान्तरण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा उपलब्ध स्रोत, साधन, जनशक्ति तथा प्रविधिको प्रयोगबाट खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापन प्रभावकारी र सहज हुने गरेको छ ।

बनेलधाप कालोपानी खानेपानी योजना बोर्डमा गाभिएसँगै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उपभोक्ताको संख्या १९ हजार ९ सय २ पुगेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बनेलधाप कालोपानी खानेपानी योजनाले एउटा डीप ट्युववेलबाट उत्पादन गरिएको पानी वितरण गरिरहेको छ । प्रमुख तथा शाखा गरी कुल २२ हजार मिटर पाइपलाइन रहेको बनेलधाप खानेपानी योजनाले बिहान र बेलुकी २ टाइम पानी वितरण गरिरहेको छ ।

बोर्डले जिम्मेवारी पाएपछि पानीको वितरण प्रणालीमा सुधार हुने दावी गरिएको छ । खानेपानी योजना हस्तान्तरण कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य ईन्द्रप्रसाद नेपाल, बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालसहित प्रतिनिधिमूलक उपभोक्ताको उपस्थिति रहेको थियो ।

Exit mobile version