हेटौंडाः हेटौंडाको भुटनदेवी माविमा निर्माण सम्पन्न भएको २० कोठे भवन आज विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

भ्याट बाहेक ६ करोड ३० लाखको लागतमा भ्याली लामा जेभिले भवनको निर्माण गरेको हो । जापान सरकारको ऋण सहयोगमा भुटनदेवी माविमा २० कोठे भवन तयार भएर आज भुकुम्प पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना (शिक्षा) ले बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई, मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र खुलालले ४ नम्बर वडा कार्यालय हुँदै विद्यालयका प्रअ माधव दाहाललाई भवनको चाबी हस्तान्तरण भएको हो ।

भुटनदेवी विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा संचालनमा छ । नवनिर्मित भवनको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो भने उहाँले नेपालको झण्डोतोलन पनि गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले विद्यालय भवनको पूर्तिसँगै विद्यालयमा पढाई हुने शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकले पढाउने हैन विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।