त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा ट्रक चालकलाई मास्क वितरण गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरमा प्रहरीले जोर बिजोर नमान्ने सवारी साधनका चालक र मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई जरिवाना गर्न सुरु गरेको छ ।

सोमबार बिहान मकवानपुर प्रहरीले हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणाली उल्लंघन गर्ने ५५ वटा मोटरसाइकल, ७ वटा अटो, ५ वटा म्याजिक र १ मयुरीलाई जरिवाना गरेको छ । यस्तै प्रहरीले मास्क नलगाउने २३ जनालाई पनि जरिवाना गरिएको छ ।

प्रहरीले जोर बिजोर प्रणाली लागु नगर्ने सवारी साधनका चालक तथा मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरिवाना गरेको छ । यसअघि आइतबार प्रहरीले सचेतना अभिवृद्धि गर्दै मास्क वितरण समेत गरेको थियो ।