लागुऔषधसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः प्रहरीले फरार प्रतिवादी कोधर्मेन्द खेम्कालाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतको मिति २०७२ चैत्र २२ गतेको फैसलाले सार्वजनिक मुद्दामा एक हजार ४ सय ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई आइतबार नै जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएर जरिवाना भुक्तान गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच मकवानपुर प्रहरीले ४८० ट्याबलेट नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० बसपार्कस्थित सडकखण्डमा शंकास्पदरुपमा हिँडिरहेका बारा गढीमाई नगरपालिका वडा नम्बर १५ बस्ने बर्ष १८ का सोमबहादुर तामाङ र जिल्ला नवलपरासी साबिक बन्जरिया गाविस वडा नम्बर १ बस्ने बर्ष २३ को सन्देश तामाङलाई लागूऔषसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।