Home खेलकुद देशको लागि खेल्छु भन्नेलाई सधैं सहयोग गर्छु

देशको लागि खेल्छु भन्नेलाई सधैं सहयोग गर्छु

भीम लामा, प्रशिक्षक हेटौंडा फुटबल एकेढेमी

हेटौंडामा फुटबल खेलाडी उत्पादन गर्ने क्लब भन्दा प्रायः सबैको मुखमा आउने नाम हो, ‘हेटौंडा फुटबल एकेडेमी’ । एकेडेमीले ग्रासरुटदेखि नै फुटबल खेल्न इच्छुक खेलाडीलाई राष्ट्रियस्तरको खेलाडी बन्न सहयोग गर्दै आएको छ । जसको श्रेय पूर्णरुपमा एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई जान्छ । प्रशिक्षक लामा अहिले महिला फुटबलको विकासमा तत्परताका साथ लागिरहनुभएको छ । करिब ६ वर्षदेखि एकेडेमी सञ्चालन गरी पुरुष फुटबल खेलाडी उत्पादन गर्दै आउनुभएका प्रशिक्षक लामाले अहिले महिला फुटबललाई पनि विकास गर्नुपर्छ भन्दै लागिपर्नु भएको छ । मकवानपुरमा महिला खेलाडीलाई अगाडि बढ्ने मौका नमिलेको उहाँ बताउनुहुन्छ । देशको लागि फुटबल खेल्छु भन्ने खेलाडीलाई पूर्णरुपमा सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका खेल पत्रकार आरबी पौडेलले प्रशिक्षक भीम लामासँग गरिएको कुराकानीको सम्पादित अंश ।

समाजः महिलाहरुलाई प्रशिक्षण गराउने, महिलाहरुको फुटबल टिम तयार गर्ने सोच कसरी बनाउनुभयो ?
लामाः
महिलाहरुलाई फुटबल प्रशिक्षण गराउने सोच कसरी भयो भने विगतका दिनमा पुरुष टिमलाई मात्र प्रशिक्षण गर्ने गरिएको थियो । मकवानपुर जिल्लामा कसैले पनि महिलाहरुलाई फुटबल प्रशिक्षण गराइरहेका थिएनन् । भाइहरुले फुटबल खेलेको देखेर धेरै बहिनीहरुले पनि खेल्ने इच्छा देखाउनुभयो । दुईचार जना केटा साथीहरुकै माध्यमबाट १–२ जना गर्दै केटीहरु पनि फुटबल खेल्न आउन थालेपछि टिम नै बनाएर फुटबल प्रशिक्षण दिने सोच बनाएँ । महिलाहरुलाई पनि फुटबल सिकाउन सुरु गरेँ । महिलाहरुलाई प्रशिक्षण गराउन गाह्रो त हुन्छ, तर साथीहरुकै माध्यमबाट आएका हुनाले उनीहरुलाई ग्रासरुट लेवलबाट प्रशिक्षण गराइदिउँ भनेर सुरु गरिएको हो ।

समाजः पुरुषहरुको तुलनामा महिलालाई प्रशिक्षण गराउन सहजता वा असहजता के कतिको महसुस गर्नुभएको छ ?
लामाः
पुरुषको टिमभन्दा महिलाको टिमलाई चाहिँ अलिकति गाह्रो हुन्छ । किनभने महिलाहरुलाई निरन्तरता दिन ठूलो समस्या देखिएको छ । एक त हाम्रो समाजमा महिलाहरुलाई खेल क्षेत्रमा लाग्न त्यति प्रोत्साहन दिने गरिँदैन । परिवार तथा समाजका कारणले गर्दा नै उनीहरुले खेल्ने इच्छा हुँदाहुँदै आफ्नो प्रतिभा देखाउन नसकेको अवस्था छ । त्यसमाथि महिलाहरुलाई प्रशिक्षण दिने खेल्ने उपयुक्त प्लेटफर्म पनि हुँदैन । घरबाट खेल्न प्रोत्साहन नहुँदा उनीहरुसँग खेल सामग्री जुटाउन पनि सक्दैनन् । फुटबलका लागि जर्सी, बुट, प्याड तथा बल जुटाउन उनीहरुलाई अलि गाह्रै छ । त्यही भएर मैले सकेसम्म एकेडेमीबाटै खेल सामग्री व्यवस्थापन गरिरहेको छु ।

समाजः यो सबै सामग्रीहरु एकेडेमीले नै व्यवस्था गरिरह“दा यसका लागि आर्थिक व्यवस्थापन के कसरी गर्नुभएको छ ?
लामाः
एकेडेमीले विगतदेखि नै फुटबल प्रशिक्षण दिँदै आएको छ । आफूले पनि एएफसी लाइसेन्स लिएको भएर दुईचार जना साथीहरुले चिनेकाले फुटबलमा केही विकास गर्छ भनेर स्वदेश र विदेशमा बस्नुभएका साथीहरुले दुई–पाँच हजार गर्दै सहयोग आउने गरेको छ । प्रशिक्षणका लागि नयाँ भर्ना भएका भाइबहिनीहरुबाट भर्ना शुल्क १ हजार रुपैयाँ लिने गर्छु । तिनै रकमले अलिअलि व्यवस्थापन गरेर फुटबल प्रशिक्षण गराइरहेको छु ।

समाजः अहिले टिममा रहेर प्रशिक्षण लिइरहनुभएका महिला खेलाडीहरुको खेलप्रति चासो र लगाव पुरुषको तुलनामा के कस्तो पाउनुभएको छ ?
लामाः
पुरुषहरुको जस्तै चासो महिलाहरुको पनि छ, तर महिलाहरुमा खेलका लागि पर्याप्त समय दिन नसक्ने समस्या छ । यस्तै, उनीहरुलाई घरबाट पर्याप्त सपोर्ट गर्दैनन् । त्यति हुँदा पनि उनीहरुलाई कसरी अगाडि बढाउने, कसरी मोटिभेट गरेर लैजाने, खेलप्रति कसरी रुचि जगाउने र जागरुक गराउने भनेर आफूसँग भएको आइडिया प्रयोग गरिरहेको छु । बिशेष गरी मैले अर्थात् एकेडेमीले नै उनीहरुलाई ट्रेनिङ किट्स, खाजा÷खाना खर्च, गाडी भाडा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । त्यसो गर्न नसकेको खण्डमा उनीहरुले घरबाट खर्च गरेर खेल्न सक्दैनन् र उचित ठान्दैनन् । घरबाट सपोर्ट पनि हुँदैन । त्यो कारणले गाह्रो छ, उनीहरुलाई ।

समाजः महिलाहरुको टिमलाई अहिले विभिन्न मैत्रीपूर्ण खेलहरु खेलाउन लगिरहनुभएको छ । मैत्रीपूर्ण खेलहरु खेलाउन लग्दाको अनुभवचाहिँ कस्तो रहेको छ ?
लामाः
अनुभव कस्तो रह्यो भन्दा एक त महिलाहरुले इच्छा गरेको हुनाले र मैले पनि फुटबललाई नै समय दिन्छु भनेकाले अहिलेसम्म फुटबल खेलको विकास र खेलाडी तयार गर्न योगदान दिएँ । हाम्रो पालामा ८ वर्ष ‘ए’ डिभिजन लिग फुटबल नहुँदा पनि फुटबलमा टिकेर, फुटबललाई माया गरेर, फुटबलमा नै जीवन बिताउँछु भनेको भएर महिलाहरुलाई खेलाउन लैजाँदा आउने चुनौती सामना गरिरहेको छु । पुरुषहरुको तुलनामा महिलाहरुलाई खेलाउन लैजाँदा अलिकति बढी नै खर्च हुन्छ र गर्नुपर्ने पनि हुन्छ । किनभने महिलालाई सुरक्षित राख्नुपर्ने हुन्छ । उनीहरुलाई उचित सम्मान र इज्जत पनि गर्नुपर्ने हुन्छ । घर छाडेर ग्राउण्डमा आएर खेल्नु, ट्रेनिङ गर्नु अनि उनीहरुलाई खाजाको व्यवस्था गर्न सकेन भने मलाई कस्तो लाग्छ भने हामीले पनि पहिलेदेखि दुःख गरेको भएर हामीलाई कसैले सहयोग पनि गर्दैनथे । उनीहरुलाई सहयोग नहुँदा आफैंलाई पनि भित्रबाट नराम्रो लाग्ने भएकाले आफ्नो क्षमताअनुसार यताउति सहयोग खोजेर भएपनि व्यवस्था गरिरहेको छु । फुटबलमा महिलालाई पनि अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले एकेडेमीबाट आफैंले लिडरसिप गरिरहेको छु । अरुले सिकाउँदा गाली गर्ने र नातागोतालाई मात्र अगाडि बढाउने भएर मैलेचाहिँ दैनिक मिहिनेत गर्ने र फुटबलमा नै जीवन बिताउँछु भन्ने भाइबहिनीहरुलाई राम्ररी प्रशिक्षण गराएर र उनीहरुलाई ग्रासरुटदेखि ट्रेनिङ गराएर बल्ल टेक्निकल, ट्याक्टिकलरुपमा लगेर उनीहरुलाई खेलाउने र भविष्यमा आर्मी, पुलिस, एपीएफमा भर्ना हुन योग्य बनाउने सोच राख्ने गरेको छु । अहिले जति पनि राष्ट्रिय टिममा छन्, विभागीयकै वर्चस्व रहेकाले पनि हामीले राम्रो खेलाडी उत्पादन गर्ने र भविष्य बनाइदिने हो । देशको लागि खेल्छु, केही गर्छु भन्ने बहिनीहरुलाई एकेडेमीले माथिसम्म पुर्‍याउने काम गर्ने हो ।

समाजः प्रशिक्षणपछि अहिले मैत्रीपूर्ण खेलहरु खेलाइरहँदा नतिजाहरु के कतिको सुधार र सन्तोषजनक पाउनुभयो ?
लामाः
बिस्तारै सुधार भइरहेको छ जस्तो लाग्छ । किनभने अहिलेसम्म आउँदा ३ महिनाको अन्तरालमा पहिलो म्याच हामीले अमलेखगञ्जसँग खेल्यौं । त्यहाँ ठिकै खेल प्रदर्शन गरेर बहिनीहरुले अनुभव बटुले । खेलको क्रममा आफूमा भएका कमी कमजोरी थाहा पाएर सुधार्ने मौका पाउँछन् । त्यसपछि कलैया गोल्डकपमा खेल्यौं । तेस्रो हामीले अहिले बहिनीहरुले इच्छा व्यक्त गरेको भएर दुईचार जना साथीभाइले सहयोग पठाएको हुनाले त्यहि सहयोगबाट नवलपुरको गैंडाकोट लगेर खेलायौं । जे होस् राम्रै अनुभव पनि भयो र उनीहरुले फुटबलमा केही सिक्ने मौका र हौसला मिलेको जस्तो लाग्छ ।

समाजः महिला खेलाडीको परिवारबाट के कस्तो प्रतिक्रियाहरु आउने गरेको छ ?
लामाः
खासै त्यस्तँे प्रतिक्रिया त आउने गरेको छैन । उल्टो अलिकति ढिला भयो भने गालीचाहि“ गर्छन् । दुईचार जनाले गाली पनि गरेका थिए । दुईचार जनाले सपोर्ट पनि गरेका छन् । ठिकै छ ।

समाजः परिवारबाट आएका नकारात्मक प्रतिक्रियाहरुलाई तपाईंले कसरी समाधान गर्ने गर्नुभएको छ ?
लामाः
कहिलेकाहीँ खेल खेलाएर आउँदा ढिला हुन्छ । अभिभावकले फोन गर्छन् र समयमा आएन भन्छन् । अनि मैले कैलेकाहीँ ढिला हुन्छ भनेर भन्छु । कतिपय खेलाडीहरु अभिभावकको जानकारीबिना नै आएका हुन्छन् । उनीहरुलाई मैले अभिभावकसँग भेटेर सल्लाह गरेर ट्रेनिङ गर्दामात्र राम्रो हुन्छ, बिना जिम्मेवारी ट्रेनिङ गराउँदिन भनेर सम्झाउँछु ।

समाजः प्रशिक्षण गराइरहनुभएको महिला टिमलाई लिएर आगामी योजना के छ ?
लामाः
आगामी योजना र मेरो सोच तथा एकेडेमीको उद्देश्य नै खेलाडी उत्पादन गर्ने, खेलकुदको विकास गर्ने, मकवानपुर जिल्लाको र जतिपनि अरु जिल्लाबाट आएपनि इच्छुक हुनेहरुलाई ग्रासरुटदेखि नै प्रशिक्षण गराएर राष्ट्रियस्तरसम्म पुर्‍याउने काम गर्ने हो ।

समाजः सम्बन्धित निकायबाट के कस्तो सहयोगको अपेक्षाहरु गर्नुभएको छ ?
लामाः
कुनैपनि क्षेत्रमा लागेका व्यक्तिहरुलाई सहयोगको अपेक्षा हुन्छ, मलाई पनि छ । सहयोग थोरै भएपनि हुन्छ तर गर्दिनुस् । सम्बन्धित निकायले सहयोग नगरेपनि मचाहिँ केही गर्छु भनेर भित्रैदेखि फुटबलका लागि योगदान दिन्छु, आफ्नो जीवन फुटबलमै बिताउँछु र जति सक्छु फुटबलमै लाग्छु भनेर लागिपरेको छु ।

Exit mobile version