हेटौंडाः हेटौंडामा नियमितरुपमा भइरहेको साहित्यिक कार्यक्रमले सर्जकहरुको क्रियाशीलता बढेको छ । मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसंस्थाको आयोजनामा नियमितरुपमा हुने गरेका साहित्यिक कार्यक्रममार्फत् सर्जकहरुले समाजका बेथिति र विसङ्गति उजागर गर्दै आएका छन् । जिल्लाका साहित्यकारहरुले कलम चलाएर बेथितिविरुद्ध आवाज बुलन्द पार्ने क्रम बढ्दै जाँदा जिल्लाको गरिमा बढाएको हो ।
साहित्य संगम मकवानपुर, सिस्नुपानी नेपाल मकवानपुर, मातृभूमि साहित्यिक समाज, बुढ्यौली साहित्य समाज, आँचल साहित्य कला पुञ्च, झरना साहित्यिक परिवार मकवानपुर, भीम विराग साहित्य कला प्रतिष्ठान, गजल मञ्च मकवानपुर, सर्जक सञ्जाल मकवानपुरलगायत साहित्यिक संस्थाले आवधिकरुपमा साहित्यिक कार्यक्रम गर्दै आएका छन् । साहित्यिक संस्थामा आवद्ध भएका तथा साहित्य सिर्जनामा क्रियाशील साहित्यकारहरुले विभिन्न साहित्यिक कार्यक्रममार्फत् साहित्यमा योगदान पुर्याउने काम भइरहेको छ ।
मकवानपुर जिल्लामा साहित्यिक कार्यक्रममात्र होइन, साहित्यकार तथा स्रष्टाहरुलाई पुरस्कृत पनि गर्दै आएको छ । विभिन्न साहित्यिक संघसंस्थाले साहित्यकारहरुलाई सम्मान गर्ने क्रम पनि बढ्दै गएको छ । नियमित साहित्यिक गतिविधि बढ्दै जाँदा सर्जकहरुमा साहित्य सिर्जनामात्र बढेको छैन, साहित्यिक कृति प्रकाशन गर्ने क्रम पनि बढेको छ ।
पछिल्ला दुई हप्ताको बीचमा हेटौंडामा थुप्रै साहित्यिक कृतिहरुको विमोचन तथा परिचर्चा कार्यक्रम भएका छन् । शुक्रबारमात्रै पत्रकार होम कार्कीको कृति ‘सनैया’को गृहविमोचन तथा समीक्षा कार्यक्रम भएको छ । यसअघि दीपक गौतमको मुक्तक संग्रह ‘विसङ्गत वर्तमान’को विमोचन तथा चर्चा गरिएको थियो ।
गजलकार भोलाप्रसाद शिवाकोटी दम्पतिको गजल संग्रह ‘गोधूली चिन्तन’को पनि हालै विमोचन गरिएको हो । यस्तै, हास्यव्यङ्ग्यकार आरसी रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘को वरिष्ठ’को सार्वजनिकीकरण तथा परिचर्चा गरिएको थियो । साहित्यकार सुवास खनालको कविता कृति ‘सपनाका अवयव’लगायतका विभिन्न विधामा पुस्तकहरु प्रकाशित गर्न मकवानपुरे साहित्यकारहरु सफल भएका छन् ।
साहित्यिक संघसंस्थाले साहित्यिक गतिविधि तिब्र पार्दै जाँदा सर्जकहरुले साहित्यिक रचना वाचन गर्नुका साथै कृति नै प्रकाशन गर्नुले जिल्लामा साहित्यको श्रीवृद्धि हुँदै गएको साहित्यकारहरुको धारणा छ । सर्जकले साहित्यका विभिन्न विधामार्फत् आफ्ना विचार र धारणा अभिव्यक्त गरी समाज र राष्ट्रका निम्ति महत्वपूर्ण योगदान पुर्याइनुलाई सकारात्मक मान्नुपर्ने साहित्यप्रेमीहरुले बताउनभएको छ । आम मानिस तथा समाजले साहित्यको औचित्य र महत्व बुझ्न नसके पनि साहित्य सिर्जना तथा कृति प्रकाशनको क्रम बढ्नुलाई सर्जकहरुको सफलता मान्नुपर्छ ।