हेटौंडाः वन विज्ञान अध्ययन संस्थान हेटौंडाका विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणको माग गर्दै हेटौंडामा र्याली गरेका छन् । वन्यजन्तु संरक्षणका लागि बारम्बार आवाज उठाउँदै आएका विद्यार्थीहरुले आज शनिबार हेटौंडामा प्रदर्शन गरेका हुन् ।
वन्यजन्तु सप्ताहअन्तर्गत् उनीहरुले हेटौंडाका सडकमा विभिन्न प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका थिए । वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले गत बुधबारदेखि सप्ताहव्यापी कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइरहेका छन् । हेटौंडामा भुस्याहा कुकुरको आक्रमणबाट श्रृंखलाबद्धरुपमा चित्तल र मृग मारिन थालेपछि विद्यार्थीहरुले आवाज उठाउँदै आएका थिए ।
पटक–पटक विद्यार्थीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता भएको भन्दै विद्यार्थीहरुले चिन्ता ब्यक्त गरेका छन् । विद्यार्थीहरुले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् । सप्ताहब्यापी कार्यक्रमअन्तर्गत् शनिबार बिहान वन विज्ञान अध्ययन संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले आफ्नो अनुहारमा विभिन्न बन्यजन्तुको चित्रसमेत बनाएका थिए ।