हेटौंडाः सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी हेटौंडामा अन्तरक्रिया सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा हेटौंडामा भएको अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा सहभागिहरुले वैदेशिक रोजगारीमा जाँदा सुरक्षित आप्रवासनको कार्यालयमा बुझेर मात्र जानुपर्ने धारणा व्यक्त गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुको समस्या तथा परिवारको समस्या भएमा सामी परियोजनाले उनीहरुलाई आवश्यक सहजीकरण गर्ने भन्दै जनप्रतिनिधिहरुले त्यस्ता केसहरुलाई रेफर गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तरक्रियामा सामी परियोजनाको प्रदेश संयोजक तरुन अधिकारीले बागमती प्रदेश लगायत देशैभरको वैदेशिक यात्रामा जानेको संख्या, समस्या, समाधान लगायत परियोजनाको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
यस्तै हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी संविधानमा भएका ऐन कानुनहरु तथा स्थानीय तहमा भएको कानुनको प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी सामी परियोजना मकवानपुरका संयोजक अन्जिता थापा मगरले हालसम्म भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामा, वडा अध्यक्षहरु नविन सिग्देल, लक्ष्मण भण्डारी, ललित घलान, मनोज वाइबा, महारत्न लामा, भैरब बहादुर राई, मनोज वाईबा लगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।