हेटौंडाः रुद्रप्रसाद–विष्णुकुमारी रिजाल स्मृति कोषले स्वर्गद्वारी संस्कृत विद्याश्रम काठमाडौं र आँचल साहित्य कला पुञ्ज हेटौंडालाई ५०-५० हजार राशिको पुरस्कार प्रदान गरेको छ । संस्कृत साहित्यमा योगदान पुर्‍याएको भन्दै काठमाडौंको पशुपतिनाथ परिसरमा रहेको स्वर्गद्वारी संस्कृत विद्याश्रमलाई रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार र महिला साहित्यको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आँचल साहित्य कला पुञ्जलाई विष्णुकुमारी रिजाल स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो ।

कोषले शनिबार हेटौंडा–१०, भुटनदेवी मन्दिररोडस्थित रिजाल परिवारकै घरमा एक समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो । हेटौंडा नगरको शैक्षिक एवम् भौतिक विकासमा योगदान पुर्‍याउनुभएका रुद्रप्रसाद रिजालको स्मृतिमा रुद्रप्रसाद रिजालको निधनपछि उहाँकी श्रीमति विष्णुकुमारी रिजालले २०५३ सालबाट रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार प्रदान गर्न सुरु गर्नुभएको थियो । हरेक दुई वर्षमा २५ हजार राशिको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले यस वर्षदेखि पुरस्कारको राशि बढाएर ५० हजार रुपैयाँ पु¥याएको हो ।

विष्णुकुमारी रिजालको पनि ४ वर्षअघि निधन भएपछि रिजाल परिवारले विष्णुकुमारी रिजालको स्मृतिमा यसै वर्षदेखि महिला साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने संस्थालाई पुरस्कृत गर्न सुरु गरेको साहित्यकार आरसी रिजालले जानकारी दिनुभयो । स्वर्गीय विष्णुकुमारी रिजाल आरसी रिजालकी आमाकी बहिनी हुनुहुन्थ्यो । आरसी रिजाल रुद्रप्रसाद-विष्णुकुमारी स्मृति पुरस्कार कोषको अध्यक्ष हुनुहुन्छ । १० लाख रुपैयाँ अक्षयकोष स्थापना गरेको रिजाल परिवारले अबदेखि हरेक वर्ष पुरस्कार वितरण गर्ने जनाएको छ ।
शनिबार निबन्धकार रामबाबु घिमिरेको प्रमूख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण समारोहमा स्वर्गीय रिजाल दम्पत्तिकी छोरीहरु विनु रिजाल र शोभा रिजालको पनि उपस्थिति रहेको थियो । छोरी विनु रिजालले लेख्नुभएको आफ्नी आमाको संस्मरणात्मक कृति ‘सम्झनामा आमा’ पनि विमोचन गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा स्वर्गीय रुद्रप्रसाद रिजालको व्यक्तित्वका बारेमा साहित्यकार रामचन्द्र फुर्सती र समाजसेवी नन्दरत्न स्थापितले बोल्नुभएको थियो । कार्यक्रममा साहित्यकार सरुभक्त, ज्ञानुवाकर पौडेलको पनि उपस्थिति रहेको थियो ।