हेटौंडाः हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा शनिबार आयोजित नियमित सन्ध्यामा डा. सुजाता पन्तले पाँच वटा कविता प्रस्तुत गर्नुभयो । ३०५ औं साहित्य सान्ध्यामा डा. पन्तले आफ्नो पेशागत अनुभवलाई नै प्रस्तुत गर्ने गरी ‘ह्वीलचियर’, ‘फेरि म डाक्टर हुन चाहान्छु’, ‘तिमी र म’, ‘सम्झौता’ र ‘चिया’ शीर्षकका कविता वाचन गर्नुभयो ।
डा. पन्तले ‘फेरि म डाक्टर हुन चाहान्छु’ शीर्षकको कवितामा समाजले डाक्टरलाई हेर्ने दृष्टिकोण र समाजप्रति डाक्टरको दायित्वलाई व्याख्या गर्नुभएको थियो । यस्तै ‘ह्वीलचियर’ शीर्षकको कवितामा एकजना अभिभावक ह्वीलचियरमा बस्न बाध्य हुनुपर्दा उसको परिवारमा देखिने समस्यालाई चित्रण गरिएको थियो । पेशागत सन्दर्भसँगै डा. पन्तले प्रेम प्रसंगका कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमूख अतिथि व्याङ्ग्यकार लक्ष्मण गाम्नागेले पनि कविता वाचन गर्नुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले गजल, कविता र मुक्तक वाचन गरेका थिए । कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष गणेशकुमार पौडेल, साहित्यकार आरसी रिजाल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अनिता न्यौपाने, कवि सुवास खनाल, विष्णु गौतम, चिरञ्जीवी लामिछाने लगायतको उपस्थिति रहेको थियो ।