हेटौंडाः बागमती प्रदेश सभाको बैठक यही चैत्र अन्तिम साता बोलाइने तयारी भएको छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेर बैठक बोलाउने जानकारी दिनुभयो ।

संसदमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव यसअघि टेबल भइसकेको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव संसदमा टेबल गरेका थिए ।

नेकपा खारेज भएपछि नेकपा एमाले एक भएर अघि बढ्नुपर्ने प्रदेशको पूर्व मन्त्री तथा सांसद अरुण नेपालले बताउनुभयो । नेकपा रहँदा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा उहाँले आफ्नो समर्थन जनाउनुभएको थियो । मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल गर्नु एक परिस्थिति भए पनि अहिलेको राजनीतिक अवस्था फरक भएको उहाँले बताउनुभयो ।

एमाले ब्यूतिएपछि सबै मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेबारे भने छलफल भइरहेको उहाँले बताउनुभयो ।