हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । बागमती गाउँपालिका वडा नं ४ को झुरझुरेमा भएको प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गर्नुभएको हो ।
गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रम देवकी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र थापाकाको सभाध्यक्षतामा भएको थियो । प्रतियोगिताको सहजीकरण देवकी माविका शिक्षक नवराज उप्रेती र पदम बडुवालले गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत् १ सय मिटर दौडको छात्रतर्फ देवकी माविका अष्टमान हिमडुङ प्रथम, सूर्य माविका किशोर माझी द्वितीय र जनता माविका निसाल गोले तृतीय भए । छात्रातर्फ १ सय मिटर दौडमा जनता माविकी रचना राना प्रथम, देवकी माविकी करुणा माझी द्वितीय र देवकी माविकै पवित्रा थापा तृतीय भइन् । छात्रतर्फको २ सय मिटर दौडमा सूर्य माविका किशोर माझी प्रथम, देवकी माविका अष्ट हिमडुङ द्वितीय र जनता माविका उमेश थिङ तृतीय भए । छात्रातर्फ २ सय मिटर दौडमा देवकी माविकी करुणा माझी प्रथम, सूर्य माविकी रोजिना घिसिङ द्वितीय र जनता माविकी सृजना रावत तृतीय भइन् ।
छात्र ८ सय मिटर दौडमा बागमती माविका लक्ष्मण माझी प्रथम, देवकी माविका जीवन सिङ्तान द्वितीय र सूर्य माविका डीएन राई तृतीय भए । छात्रातर्फ ८ सय मिटर दौडमा बागमती माविकी अञ्जु गोले प्रथम, जनता माविकी सपना केसी द्वितीय र सूर्य माविकी स्वस्तिका माझी तृतीय भइन् ।
छात्रतर्फ १५ सय मिटर दौडमा बागभैरब माविका भिषण रानामगर प्रथम, देवकी माविका प्रभात पुलामी द्वितीय र देवकीकै पवन परियार तृतीय भए । छात्रातर्फ १५ मिटर दौडमा सूर्य माविकी अञ्जली श्रेष्ठ प्रथम, देवकी माविकी गीता माझी द्वितीय भइन् ।
छात्रतर्फ सट–पुटमा सूर्य माविका युवराज माझी प्रथम, देवकी माविका उमेश माझी द्वितीय र जनता माविका सन्दिप दोङ तृतीय भए । छात्रातर्फ देवकी माविकी धनमाया माझी प्रथम, देवकी माविकै सुस्मिता थोकर द्वितीय र बागमती माविकी पूजा लामा तृतीय भइन् ।
छात्रतर्फ ज्याभलिङ–थ्रोमा जनता माविका वीरबहादुर गोले प्रथम, देवकी माविका अर्जुन घिसिङ द्वितीय र सूर्य माविका जीवन माझी तृतीय भए । महिलातर्फ ज्याभलिङ–थ्रोमा देवकी माविकी धनमाया माझी प्रथम, जनता माविकी सृजना केसी द्वितीय र सूर्य माविकी विनु माझी तृतीय भइन् ।
भलिबलमा छात्रतर्फ जनता मावि प्रथम र बागभैरब मावि द्वितीय भए । यस्तै, छात्रा भलिवलतर्फ पनि जनता र बागभैरब नै क्रमशः प्रथम र द्वितीय भए । बाँकी विधाका खेलहरु बुधबार हुने आयोजक देवकी माविका शिक्षक पदम बडुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता र उपविजेता हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।