हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा आगामी २०७८ साल जेठ २ गतेबाट सञ्चालन गर्ने भएको छ । परीक्षा समितिको सोमबार बसेको बैठकले परीक्षाको मिति तय गरेको हो ।
जेठ २ गतेबाट सुरु भएर जेठ ११ गते परीक्षा सकिनेछ । परीक्षामा सहभागी हुन विद्यार्थीले यही चैत २३ गतेसम्ममा परीक्षा फारम भर्नुपर्ने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । कक्षा ८ सञ्चालन भएका मकवानपुरमा ५० वटा सामुदायिक विद्यालय र ३८ वटा संस्थागत विद्यालय छन् । सामुदायिक र संस्थागत दुवै विद्यालयमा कक्षा ८ परीक्षा स्थानीय सरकारले लिने व्यवस्था छ ।
हेटौंडा उपमहानगरक्षेत्रका विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी करिब तीन हजार आठ सय रहेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ । परीक्षा दिनको १ बजेबाट सुरु हुनेछ । विद्यार्थीले एक सय पूर्णाङ्कको परीक्षा ३ घण्टाको अवधिमा दिनुपर्नेछ ।