सम्पूर्णा ढकाललाई मनमाया स्मृति गजल पुरस्कार प्रदान गरिँदै ।

हेटौंडाः गजल मञ्च मकवानपुरले मनमाया स्मृति गजल पुरस्कार २०७७ बाट हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा सम्पूर्णा ढकाललाई प्रदान गरेको छ । दुई हजार पाँच सय नगद राशीको सातौं संस्करणको पुरस्कार शनिबार आयोजित एक सय ७६ औं गजल यात्राको अवसरमा प्रदान गरिएको हो । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो ।

मावि तहमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगितात्मक गजल लेखन तथा प्रस्तुती गराएर उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिएको हो । गजल मञ्च मकवानपुरले सहभागिताका लागि आव्हान गर्दा १६ जना सहभागी भएका थिए । १६ जनामध्ये उत्कृष्ट ५ गजल छनोट गरेर शनिबार गजल वाचन समेत गराई उत्कृष्ट छनोट गरिएको हो । गजल मञ्च मकवानपुरका सचिव केशव समर्पण र सहसचिव विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

उत्कृष्ट पाँचमा सम्पूर्णासँगै मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छात्रा ममता अगस्ती, बकैया गाउँपालिका–४ स्थित महेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत छात्र भोजराज बोलखे, हेटौंडा–५, भैरवरोडस्थि जीएस निकेतन माविमा कक्षा १० मा अध्ययरत निश्चल राज गौतम र रोशनी चौलागाई छानिएका थिए । प्रतियोगितामा सहभागी भई उत्कृष्ट ५ मा पर्न सफल विद्यार्थीलाई गजल संग्रहसमेत उपहारस्वरुप प्रदान गरिएको छ ।

गजल यात्राकै अवसरमा साहित्यकारहरुले गजल वाचन गरेका छन् । गजल मञ्च मकवानुपरका अध्यक्ष देवराज तिवारीको अध्यक्षता तथा अग्रज साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा भएको हो । कार्यक्रममा साहित्यकारहरु रमेश मोहन अधिकारी, निमेष निखिल, तुल्सी घिमिरे, गणेश पौडेल, सुवास खनाल, राजकुमार लामिछाने, पुरुषोत्तम आचार्यको पनि उपस्थिति रहेको थियो । गजल यात्राको अवसरमा राम कार्की र यादव श्रेष्ठले तबला र हार्मोनियमको संगीतमा गजल वाचन गर्नुभएको थियो ।