हेटौंडाः तेस्रो संस्करणको शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्कार राशीसहित उपाधि जितेको हो ।
साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का फरवार्ड अमीर श्रेष्ठले रोयल इनफिल्ड वाइक हात पारेका छन् । उत्कृष्ट खेलाडीलाई रोयल इनफिल्ड बाइक हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको हो ।
त्रिभुवन आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका रन्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीबाट घोषित भए ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गर्नुभयो ।