हेटौंडाः हेटौंडामा जारी तेस्रो शहीद स्मृति हेटौंडा गोल्डकप प्रतियोगिता मकवानपुरकै प्रतिष्ठाको विषय भएको आयोजक समितिका संयोजक प्रताप विष्टले बताउनुभएको छ । सबैको साथ र सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको उल्लेख गर्नुहुँदै संयोजक विष्टले प्रतियोगितालाई निरन्तरता दिन पनि सबैको साथ र सहयोग जरुरी रहने स्पष्ट पार्नुभयो ।
शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा विष्टले शनिबार हुने फाइनल खेलका विजेता तथा उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्नुहुने जानकारी दिनुभयो । शनिबार प्रतियोगिताको फाइनलमा आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगितामा घरेलु टोली फाइनलमा पुगे पनि मकवानपुरका दर्शकले खेलका आधारमा जुनसुकै टिमलाई समर्थन गर्ने उल्लेख गर्नुहुँदै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले दुबै टिमलाई शुभकामना व्यक्त गर्नुभयो ।
प्रिम्याच कन्फ्रेन्समा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले आफ्नो टिम जित्नका लागि खेल्ने बताउनुभयो । मकवानपुर–११ का व्यवस्थापक युवराज लामाले सेमीफाइनलमा लिग विजेता टोलीलाई हराएको उत्साहले टिममा उर्जा थपिएको बताउनुभयो । यता त्रिभुवन आर्मी फुटबल क्लबका व्यवस्थापन चुनबहादुर थापाले एएफसी प्रतियोगिताको तयारीमा रहेको टिमका लागि विदेशी टोलीसहित राष्ट्रिय टिमका सदस्य रहेको मकवानपुर–११ सँगको फाइनल खेल महत्वपूर्ण हुने बताउनुभयो ।
त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुढाथोकीले वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा ४ पटक फाइनल खेलेर दुईपटक उपाधि जितिसकेको र तेस्रो उपाधिका लागि आतुर रहेको बताउनुभयो । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पाउने छ । यस्तै उत्कृष्ट खेलाडीले रोयल इनफिल्ड वाइक पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पाउनेछ ।