हेटौंडाः मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । संघीय सरकार र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा देवकी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यपक चन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतियोगिता चैत १० र ११ गते हुनेछ । प्रतियोगिता बागमती गाउँपालिकाभित्रका देवकी माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, सूर्य माध्यमिक विद्यालय, बागमती माध्यमिक विद्यालय र बाघभैरब माध्यमिक विद्यालय गरी ५ वटा विद्यालय सहभागी हुनेछन् ।
प्रतियोगितामा छात्र तथा छात्राको भलिबल, कबड्डी, हाइजम्प, लङजम्प तथा विभिन्न दुरीका दौडहरु हुनेछ । प्रतियोगिताका लागि संघीय सरकारले १ लाख र गाउँपालिकाले १ लाख प्रदान गर्ने प्रधानाध्यापक थापाले बताउनुभयो । प्रतियोगितामा विजेता र उपविजेता बन्ने खेलाडीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।