हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चालु वर्षको हालसम्म बलात्कारसम्बन्धी ३१ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/०७८ को फागुन महिनासम्म बलात्कारसम्बन्धी ३१ वटा मुद्धा दर्ता प्रहरीमा दर्ता भएको हो ।
प्रहरीमा दर्ता भएको बलात्कारसम्बन्धी ३१ वटा मुद्धामध्ये २० वटा मुद्धाका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बलात्कारसम्बन्धी ११ वटा मुद्धाको आरोपी अहिलेसम्म फरार नै रहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्धा दर्ता भएको थियो । जसमध्ये बलात्कारको आरोपी १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बलात्कारमा संलग्न ४ जना भने अहिलेसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्धा प्रहरीमा दर्ता गरिएको थियो । जसमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरिसकेको तथा ६ जना अहिले पनि फरार रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३६ वटा बलात्कारसम्बन्धी मुद्धा दर्ता भएको थियोे । जसमध्ये बलात्कारका आरोपी ३१ जनालाई प्रहरीले पक्राउ गरिसकेको तथा ५ जना अहिलेसम्म पनि फरार रहेका छन् । बलात्कारको शिकार हुनेमा बालिकादखि ६२ वर्ष पुगेका वृद्धासमेत रहेको प्रहरीले जानकारी दिएको छ ।