Home मुख्य समाचार महिला हिंसाविरुद्ध पुरुष पदयात्रा

महिला हिंसाविरुद्ध पुरुष पदयात्रा

हेटौंडाः १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल (मेन ईंगेज) नेपालको आयोजनामा पुरुष पदयात्रा कार्यक्रम गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको पदयात्रामा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालका साथै स्थानीय संघसंस्थाको समन्वय र सहकार्य रहेको थियो ।

समानता र सामाजिक न्यायका लागि गरिएको पदयात्रा हेटौंडाको शीतलमहल चोकबाट सुरु भई बुद्धचोकमा समापन गरिएको थियो । लैंगिक समानता तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको पदयात्रापछि बुद्धचोकमा कोणसभा तथा दीप प्रज्वलन गरिएको थियो ।

मेन ईंगेज एलायन्सका केन्द्रीय परिषद् सदस्य प्रकाश खतिवडाको सभाध्यक्षतामा पदयात्रा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि श्रेष्ठले महिला हिंसाको अन्त्य र लैंगिक समानताका लागि पुरुषको भूमिका अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मेन ईंगेज एलायन्स जिल्ला कार्यसमिति मकवानपुर गठन भएको औपचारिक घोषणा गर्नुभएको थियो । प्रकाश खतिवडाको संयोजकत्वमा मेन ईंगेज एलायन्स मकवानपुर गठन गरिएको छ । एलायन्समा कमल फुयाँल, चिरञ्जीवी पौडेल, झविन्द्र ज्ञवाली, दीप न्यौपाने, कुमारी वाईबा, किरण थापा, जमुना तितुङ, निशा लामा, सुरेश श्रेष्ठ, राम मिजार, दिगम्बर रुपाचा र बुद्ध लामासहित १३ जना सदस्य रहेका छन् ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)का बागमती प्रदेश संयोजक कृष्ण गौतम, यौनिक तथा लैंगिक अल्पसंख्यक सञ्जालका किरण थापा, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरी, ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीप न्यौपाने, नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला तथा कार्यकारी निर्देशक चिरञ्जीवी पौडेल, सिविन नेपालका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीलगायतले कार्यक्रममा महिलामाथि हुने हिंसाको बिरुद्ध तथा लैंगिक समानताका लागि पुरुषको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Exit mobile version