हेटौंडाः दक्षिण एशियाकै पहिलो सुरुङमार्गको निर्माणकर्ता नेपालको प्रथम ग्राजुएट सिभिल ईन्जिनियर ब्रिगेडिएर कर्णेल डिल्लीजंग थापाको अर्धकदको शालिक चुरिया माई मन्दिर परिसरमा राखिएको छ ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले सेनाका सिभिल ईन्जिनियर बिग्रेडियर कर्णेल डिल्लीजंग थापाको अर्धकदको शालिक ४ लाखको लागतमा बनाएर आज चुरिया माई मन्दिर परिसरमा अनावरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शालिकको अनावरण गर्दै पुराना सम्पदाहरुको संरक्षण गनुपर्ने बताए । दक्षिण एशियाकै पुरानो चुरीया माई सुरुङमागको परिकल्पनाकार सेनाका बिग्रेडियर जनरल थापाको शालिक काठमाडौंबाट निर्माण गरेर ल्याइएको थियो ।
९ फिट चौंडाइ र १० फिट अग्लो भएको चुरिया माई सुरुङमार्गको लम्बाई ५ सय मिटर रहेको छ । सुरुङमार्गको दक्षिणी भाग राम्रै रहेको छ भने उत्तरी मुख भने हालको अवस्थामा पुरिएको छ ।
चुरिया माईको सुरुङ सन् १९१७ मै बनेको थियो । जसका डिजाइनकर्ता सेनाका कर्णेल थापा हुन् । चुरियामाई मन्दिर र सुरुङ मर्मतको लागि हेटौंडा उपमहानगरपालिकाले पनि चासो देखाउँदै आएको छ ।
बागमती प्रदेश सरकारले जीर्ण अवस्थामा रहेको चुरिया माई सुरुङमार्गको संरक्षण र संर्वधन गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले दक्षिण एशियाकै पुरानो सुरुङमार्गमा यातायात चल्ने गरी मर्मत गरिने बताए । बागमती प्रदेश सरकारले पुरातात्विक विभागसँग परामर्श गरेर पुनर्निर्माण कार्यको लागि बोलपत्र आह्वान गरिसकेको छ ।
प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेर चुरीया माई सुरुङमार्गको पुनर्निमार्ण कार्य अगाडि बढाएको हो । एक सय वर्ष पुरानो सुरुङमार्गमा पुनः गाडि गुड्नेगरी पुनर्निर्माण गर्ने प्रदेश सरकारको योजना छ । पुरातात्विक सम्पदाको संरक्षण हुने गरी काम गर्नुपर्ने भन्दै मन्त्री फुयाँलले भन्नुभयो, “अब नेपाल सुरुङ युगमा प्रवेश गरिसक्यो । सुरुङलाई मर्मत गरेर सञ्चालन ल्याउन प्रदेश सरकार कटिबद्ध छ ।”
हेटौंडाको चुरिया माईको सुरुङमार्गलाई प्रदेश सरकारले भौतिक पूर्वाधार अध्ययन अनुसन्धानको रुपमा विकास गर्ने चाहेको बताएको छ । पूर्वाधारको निर्माण पूर्व यसको अध्ययन अनुसन्धान हुने मन्त्री फुयाँलले जानकारी गराए । मन्त्री फुयाँलले पुरातात्विको सम्पदाको संरक्षण गर्ने विषयलाई बागमती प्रदेशले उच्च प्राथमिकतामा राखेको बताउँदै जसरी पनि काम अगाडि बढाउने बताए । “राजनीतिक अवस्था जस्तासुकै भएपनि चुरिया माई सुरुङको पुनर्निर्माणको काम अगाडि बढ्छ । सुरुङमार्ग मर्मत गर्न आवश्यकताअनुसार बजेट थप गर्न पनि प्रदेश सरकार तयार छ । उनले भने ।”
हेटौंडाको चुरिया माई मन्दिर नजिकैबाट चुरिया माई सुरुङको सुरुवात भएको देखिन्छ । सुरुङमार्ग निर्माण गर्दा चरिया माई मन्दिरको स्थापना गरिएको जानकारहरु बताउँछन् ।
चुरिया माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर भोम्जन सुरुङ खन्न अनेक समस्याहरु देखिएपछि सेनाले मन्दिरको स्थापना गरेर सुरुङ खनेको बताउँछन् ।
बागमती प्रदेश र प्रदेश नम्बर २ को दक्षिणी सिमानामा चुरीया माई मन्दिरमा अवस्थित छ ।