पत्रकार सम्मेलनमा जेसीआई हेटौंडाका पदाधिकारीहरु ।

हेटौंडाः जेसीआई हेटौंडाले यस वर्षको जेसीज सप्ताह फागुन १९ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेतले जेसीज सप्ताहका बारेमा जानकारी दिनुभएको छ ।

श्याम दाहालको संयोजनमा फागुन १९ गते हेटौंडा माउण्टेनबाइक च्याम्पियनसीप आयोजना गरिँदैछ । सोही दिन मकवानपुर बहुमुखी क्याम्पसमा संग्राम बल लामाको संयोजनमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै २० गते बिहान बुद्धचोकमा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्लो मोटरसाइकल प्रतियोगिताको आयोजना गरिने जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिनुभएको छ । प्रतियोगिता महेश अधिकारीको संयोजनमा हुनेछ ।

फागुन २० गते नै विवेक आनन्द न्यौपानेको संयोजनमा वक्तृत्वकला प्रतियोगिता हुनेछ । वक्तृत्वकल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । फागुन २१ गते हेटौंडा–१५ चिप्लेटीस्थित विद्यालयमा शैक्षिक सामग्री वितरण गरिनेछ । शैक्षिक सामग्री वितरण कार्यक्रमको संयोजन अमृतकुमार बर्तौलाले गर्नुहुनेछ । फागुन २२ गते हेटौंडा–१०, बुद्धचोकमा राजु प्रसाद श्रीवास्तवको संयोजनमा रक्तदान कार्यक्रम हुनेछ । सोही दिन दिपक कुमार बर्णवालको संयोजनमा समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभएको छ ।