उपाधि साथ हेटौंडाको कालभैरव भेट्रान्सको टिम । तस्वीरः गोलनेपाल डटकम ।

हेटौंडाः हेटौंडाको कालभैरव भेट्रान्सले क्लब बनाएर पहिलो सहभागितामै उपाधि कब्जा गरेको छ । चितवन भेट्रान्सले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स फुटबल प्रतियोगितामा कालभैरवले पहिलो सहभागितामै उपाधि जितेको हो ।

शनिबार भएको फाइनल खेलमा बुटवल भेट्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । कालभैरवले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बुटवल भेट्रान्सले ७५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि उपाधि विजेता निर्धारण गर्न खेल टाइब्रकेरमा धकेलिएको थियो । प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बन्न सफल कालभैरवका रामलाल लामाले दुई बल रोकेसँगै हेटौंडेली टिमले उपाधि कब्जा गर्न सफल भएको हो । कालभैरवका अजन लिम्बु उत्कृष्ट रक्षक घोषित भए । उत्कृष्ट गोलकिपर र रक्षकले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै कालभैरकै नरेश थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए । उपाधि विजेता तथा उपविजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।

चितवन भेट्रान्सले भरतपुरको कृष्णनगरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । ४० वर्षभन्दा बढी उमेर समूहका खेलाडीको सहभागिता रहेको प्रतियोगिता फागुन ११ गतेबाट सुरु भएको हो । पहिलो सहभागितामै उपाधि कब्जा गर्न पाउँदा उत्साह बढेको कालभैरव टिमका संयोजक विष्णुलाल महर्जनले बताउनुभएको छ ।

यस्तै कालभैरवका प्रशिक्षक सञ्जीव राजबाहकले पनि पहिलो सहभागितामै उपाधि जित्दा उत्साही बनेको टिमले यही फागुन २४ गतेदेखि पोखरामा बगरभाइ खलकले आयोजना गर्ने भेट्रान्स कपमा पनि सहभागिता सुनिश्चित भइसकेको बताउनुभएको छ । कालभैरव भेट्रान्स क्लबका अध्यक्ष मकवानपुर जिल्लाका पूर्व गोलरक्षक सुरेन्द्रलाल श्रेष्ठ हुनुहुन्छ ।