हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने फैसलाको स्वागत गर्दै विजयी र्‍याली निकालेको छ । प्रतिगमनको पराजय र संवैधानिक सर्वोच्चता स्थापित भएको खुशीयालीमा गरिएको र्‍याली भूटनदेवी माविको चौरबाट सुरु भई मानस चोक, लोकप्रिय होटल हुँदै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सहइन्चार्ज कुमारी मोक्तानले केपी ओली नेतृत्वको सरकारले नेपाली जनता र संविधानविपरित चालेका कदमलाई सर्वोच्च अदालतले गलत ठहर गरेकोमा खुशी व्यक्त गर्नुभयो । नेकपाको आधिकारिकताबारे निर्वाचन अयोगले अझै निर्णय गर्न बाँकी रहेकाले आफूहरुको नेतृत्वको नेकपालाई वैधानिक चुनाव चिन्ह उपलब्ध गराउनुपर्ने उहाँले दावी गर्नुभयो ।

नेकपा मकवानपुरका जिल्ला अध्यक्ष मुनु सिग्देलले सर्वोच्च अदालतको फैसलाले न्यायालयको गरिमा बढाएको बताउनुभयो । नेपाली जनताको मर्म र भावना तथा संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतले सरकारको कदमलाई बदर गर्ने फैसला गर्नुमात्र अन्तिम विजय होइन भन्दै अध्यक्ष सिग्देलले गणतन्त्रमाथि गिद्वेनजर लगाउने धेरै भएकाले संघर्ष जारी रहने उद्घोष गर्नुभयो । असमयमा घोषणा गरेको निर्वाचन जनताको पक्षमा नभएको भन्दै अध्यक्ष सिग्देलले मुलुकमा सबै म र सर्वाेच्च नै म भन्नेहरुविरुद्ध उपयुक्त समयमा हुने निर्वाचनमा जनताले बदला लिने बताउनुभयो ।

नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले सत्यको विजयी सुनिश्चित भएको भन्दै २ सय ३८ वर्षको राजतन्त्र पनि नेपाली जनताले अन्त्य गरेको बताउनुभयो । सरकारको प्रतिगामी कदमविरुद्व सर्वोच्चले सत्यको पक्षमा फैसला गरेको जिकिर गर्दै सचिव पुलामीले प्रतिगमनका पक्षधरहरुलाई अबको चुनावमा बत्ती बालेर खोज्नुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।

र्‍यालीमा सहभागीहरुले सर्वोच्च अदालत हाइहाइ, केपी ओली बाइबाइ, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, वीर शहीदहरु लालसलाम, नागरिक समाजलाई धन्यवाद, संघीय न्यायालयलाई धन्यवाद, जनता एकता जिन्दावाद, सर्वोच्चले के गर्‍योः संघीताको रक्षा गर्‍यो भन्दै नारा लगाएका थिए ।