चितवनः मदन भण्डारी फाउण्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि सञ्चार विषयक अन्तरक्रिया भएको छ । चितवनमा सोमबार आयोजित अन्तरक्रियामा फाउण्डेसनका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो । मदन भण्डारी फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्वपूर्ण मार्गनिर्देशन रहेको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले फाउण्डेसनलाई सफल नेतृत्व प्रदान गरी जनता माझ लैजानुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नु भयो । फाउण्डेसनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्नुहुँदै उनीहरु अहिले स्वार्थमा लागेको बताउनुभयो । उहाँले विभिन्न विकासका कामहरू फाउण्डेसनमार्फत गर्न सकिने पनि उहाँले बताउनुभयो ।
सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उहाँको भनाइ थियो । फाउण्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवम् फाउण्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउण्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी फाउण्डेसनको आयोजनामा मंगलबारदेखि ५ दिने पत्रकारिता तालिम सुरु हुने भएको छ । तालिममा चितवन र मकवानपुरका गरी ३५ जना सहभागी हुने फाउण्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारिता तालिम सम्पन्न भैसकेको छ ।