हेटौंडाः हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा अमर बाल साहित्य परिवार गठन भएको छ । आइतबार विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा चाँदनी मगरको अध्यक्षतामा १४ सदस्यीय साहित्य परिवार गठन गरिएको हो ।
अमर बाल साहित्य परिवारको उपाध्यक्षमा विनु बिक, सचिवमा सुविना बिक, सहसचिवमा सुरुचि स्याङ्बो तथा कोषाध्यक्षमा प्रतिका ढुंगाना चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सृष्टि मगर, सुस्मिता ढुंगाना, अञ्जना थिङ, करुणा थापा, पुष्पा थापा, आयुष्मा भण्डारी, कृपा वस्थी, भूमिका बोलखे र रचना कार्कीलाई चयन गरिएको छ । साहित्य परिवारको संरक्षकमा विद्यालयका प्रधानाध्यापक मालती उप्रेती तथा सल्लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक डीबी बर्ताैला रहनुभएको छ ।
विद्यालयको नियमित पठनपाठनसँगै विभिन्न साहित्यिक तथा रचनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिता बढाउने उद्देश्यले बाल साहित्य परिवार गठन गरिएको हो । साहित्य परिवारले विद्यालयमा पाक्षिक भित्तेपत्रिका प्रकाशन गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुकै सक्रियतामा विद्यालयमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने तथा साहित्यिक गतिविधिमा सहभागी हुने निर्णय पनि गरेको छ ।
यस्तै, बालबालिकाले आफ्ना रचनाहरुलाई स्थानीय पत्रपत्रिकामा प्रकाशनका लागि प्रेषित गर्ने निर्णय गरेको छ । पठन संस्कृतिको विकास गर्न बाल साहित्यका पुस्तकहरु नियमित अध्ययन गर्ने र साथीहरुलाई पनि अध्ययन गर्न प्रेरित गर्ने निर्णय गरिएको अमर बाल साहित्य परिवारका सल्लाहकार डीबी बर्तौलाले जानकारी दिनुभयो ।
विद्यार्थीको रचनात्मक क्षमता विकास गर्न साहित्य परिवार प्रभावकारी हुने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभएको छ । विद्यार्थीको रचनात्मक क्रियाकलापमा विद्यालयले सदैव साथ र सहयोग रहने प्रधानाध्यापक उप्रेतीले स्पष्ट पार्नुभएको छ ।