हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७३ औं बोर्ड बैठक मंगलबार सम्पन्न भएको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले केही नियमित कामका बारेमा समीक्षा गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।
बैठकले व्यवसाय प्रबद्र्धन केन्द्र सञ्चालनसम्बन्धी नियमावली र कार्यविधि स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले सञ्चालन गर्ने तयारी गरेको केन्द्र सञ्चालनका लागि नियमावली तथा कार्यविधि तयार पारेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । यस्तै बैठकले विभिन्न स्थानीय तहहरुमा हस्तान्तरण भएका सामग्रीको निर्णय अनुमोदन गर्नुका साथै समसामयिक विषयमा समीक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सानुकान्छी स्याङ्तान, बुद्धिबहादुर मोक्तान, सरिता बिक, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।