नवनिर्मिति भवनको ताम्रपत्र अनावरण गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः हेटौंडा ११, नवलपुरस्थित त्रिभूवन माविमा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भवन भत्काएर १२ कोठाको तीन तल्ले भवन निर्माण गरिएको थियो । मंगलबार बिहान सरस्वती पुजाको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

नवनिर्मित १२ कोठे विद्यालय भवन ।

११ वटा कक्षा कोठा, एउटा प्रारम्भिक बालविकास कक्षासहितको भवनका साथै शौचालय पनि निर्माण गरिएको छ । जापान सरकारको ऋण सहयोगमा नेपाल सरकारले ३ करोड ५२ लाख ४ हजार रुपैयाँमा ठेक्कामार्फत निर्माण गरेको हो । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयका शिक्षकले अब शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाई उपलब्धी बढाउन अग्रसर हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले विद्यार्थीलाई पढाउने नभई सिकाउन शिक्षकहरुले मिहिनेत गर्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन माविमा ६ सय २ जना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले बताउनुभएको छ । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक परिवारले सक्दो मिहिनेत गर्ने प्रधानाध्यापक भण्डारीको भनाइ छ । विद्यालय भवन हस्तान्तरण कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनीको पनि उपस्थिति रहेको थियो ।