हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका ११ वटा निजि विद्यालयले उपमहानगरपालिकालाई शूल्क प्रस्ताव पेश गरेका छैनन् । माघ मसान्तसम्म आगामी शैक्षिकसत्रका लागि शूल्क प्रस्ताव गर्न उपमहानगरले भने पनि ११ वटा विद्यालयले शूल्क प्रस्ताव पेश नगरेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाकी शिक्षा अधिकृत सुनिता महर्जनले जानकारी दिनुभएको छ ।

उपमहानगर क्षेत्रका ३६ वटा विद्यालयले मात्र शूल्क प्रस्ताव पेश गरेका छन् । विद्यालले भर्ना शूल्क, मासिक शूल्क, अतिरिक्त शूल्क र अन्य शूल्कका लागि प्रस्ताव पेश गरेका छन् । व्यवस्थापन समिति र सञ्चालक समितिको निर्णय अनुरुप यो शूल्क प्रस्ताव नगरलाई बुझाएको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत महर्जनले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई माघ महिनाभित्र शूल्क प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो ।

प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि सबै विद्यालयले आ–आफ्नो पालिकामा शूल्क प्रस्ताव बुझाउनुपर्ने नियम छ । शिक्षा नियमावलीअनुसार शूल्क प्रस्ताव नबुझाउने विद्यालयले अरु विद्यालयमा लागू गरिएको शूल्कभन्दा बढी शूल्क लिन नपाइने शिक्षा अधिकृत महर्जनले जानकारी दिनुभएको छ । निजी विद्यालयले शूल्क प्रस्ताव नगरे पनि गत वर्ष भने हेटौंडा उपमहानगरपालिकाले कुनै किसिमको कारवाही गर्न सकेन ।

चालु शैक्षिक सत्र कोभिड–१९ का कारण प्रभावित बनेको समयमा भने निजी विद्यालयका सञ्चालकलाई शूल्क असुल्न सहजताका लागि उपमहानगरपालिकाले ढिलो गरी शूल्क प्रस्तावको विषय निर्णय गरेर अभिभावकसँग शूल्क असुल्न निजी विद्यालयलाई अनुकुल बनाइदिएको थियो । यस पटक भने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले शूल्क निर्धारणको प्रक्रियालाई पूरा गर्ने संकेत देखाएको छ ।