हेटौंडाः आज मंगलबार बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ । देशभरका सरस्वती मन्दिर तथा शैक्षिक संस्थामा पूजा आराधना गरेर सरस्वती पुजा मनाइँदैछ । आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन् । विद्या र सृजनाकी देवी भएकाले जान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पुजा आराधना गर्ने गरिन्छ । सूर्य उत्तरतिर लागी लामो दिन हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ । आजको दिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ ।